Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 13

August 15, 2011

कहिले काहीँ (Nepali translation of Sahir Ludhiyanvi's poem "KABHI KABHI")

कहिले काहीँ
-साहिर लुधियानवी



कहिले काहीँ मलाई यस्तो लाग्छ...

जिन्दगी तिम्रा केशको शीतल छायामा
बाँच्न पाएको भए, भाग्यशाली हुन पनि सक्थ्यो
मेरो जीवनको भाग्य भएर रहेको यो अँध्यारो
तिम्रा आँखाका उज्यालामा बिलाउन पनि सक्थ्यो ।

असम्भव थिएन, पीडाहरूसँग अनभिज्ञ भएर
म तिम्रो सौन्दर्यको लावण्यमा हराइरहको हुने थिएँ
तिम्रो सुकोमल शरीर र तिम्रा प्रेममय आँखाका
सुन्दर कथाभित्रै निमग्न भइरहेको हुने थिएँ ।

सारा दुनियाँले कर्कश तिक्तताले बोलाए पनि मलाई
म तिम्रा ओठले माधुर्य पिइरहेको हुने थिएँ
जीवनले धम्क्याउँदै मलाई खेदिरहे पनि
म तिम्रा घना केशका छायामा लुकेरै बाँचिरहने थिएँ ।

तर त्यसो हुन सकेन, र यस्तो भइनै सक्यो
तिमी छैनौ, तिमी नहुनुको दु:ख, र तिम्रो चासो पनि रहेन
बितिरहेछ जिन्दगी आफ्नै पारामा यसरी, मानौँ
यसलाई अब कसैको सहाराको खाँचो पनि रहेन ।

संसारभरिका पीरलाई अँगालो हालिसकेको छु
हिँडिरहेछु चिने-नचिनेका बाटा-कुबाटा हुँदै
जहाँ, जीवन-मृत्युका भयानक काँडाघारीबाट
आउँछन्, डरलाग्दा छायाहरू मलाई छोप्दै ।

न कुनै बाटो, न गन्तव्य, न उज्यालाको सङ्केत
शून्यमा जथाभाबी हिँडिरहेछ जिन्दगी मेरो
यही शून्यतामा कतै बिलाउनेछु म कुनै क्षण
म बुझ्दछु, मेरी प्रिया ! तै पनि त्यसैत्यसै

कहिले काहीँ मलाई यस्तो लाग्छ...


(मूल उर्दूबाट सुमन पोखरेलद्वारा अनुदित)

Sahir Ludhianvi
Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on August 15, 2011 10:20

August 14, 2011

म र मेरो म (Nepali translation of Anna Swir's poem "Myself and My Person")

म र मेरो म
- अन्ना स्वीर (७ फेब्रुवरी १९०९ वार्सा, पोल्यान्ड - १९८४, क्राकोउ, पोल्यान्ड)


कुनैकुनै क्षण त्यस्ता हुन्छन्
जसबेला
सँधैभन्दा ज्यादा स्पस्टसँगले अनुभव गर्ने गर्छु म
आफैँसँगको साथको।

त्यस्तो हुँदा मलाई खुसी लाग्छ, आँट आउँछ।
त्यसले मलाई साहस दिन्छ
मेरो त्रिआयमी शरीरलाई
मेरो आफ्नै छायाले साहस दिए झैँ।

कुनैकुनै क्षण यस्ता हुन्छन्
जब म साँच्चै नै सँधैभन्दा स्पष्टसँगले अनुभव गर्दछु
मेरो स्वसँगको साथको।

दोबाटामा उभिन्छु म, देब्रेतिर जानलाई
र सोच्दछु,
मेरो स्व दाहिनेतिर हिँड्यो भने के होला?

अहिलेसम्म त्यस्तो भै हालेको त छैन;
तर, त्यसो भन्दैमा
त्यस्तो कहिल्यै हुँदै हुँदैन भनेर
ढुक्क हुन पनि कहाँ सकिन्छ र !


(मूल पोलिसबाट चेसलफ्‌ मीओस तथा लेनाड नथनद्वारा गरिएको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)

Anna Swir
Translated by Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on August 14, 2011 20:12

August 3, 2011

निराश आमा (Nepali translation of Gabriela Mistral's poem "The Sad Mother"

निराश आमा
- गाब्रिएला मिस्ट्रल


सुत मेरो प्यारो, सुत!
निश्चिन्त सुत ।
मेरो मन नसुते पनि
मैले थकाइ नमारे पनि
तिमी नडराई सुत।

निदाऊ, निदाऊ !
रातका तिम्रा खस्याकखुसुकहरू
दुबोका मुनाका सुसेलीभन्दा मृदुल होउन्
रेसमी भुवाका कम्पनभन्दा मधुर होउन्।

मेरो रगत तिमीभित्र निदाओस्
मेरा चिन्ताहरू, मेरा छटपटीहरू तिमीमा निदाउन्
मेरा आँखाहरू तिमीमै चिम्लिइउन्
र मेरो हृदय
तिमीमै निदाओस् ।


(अनुवाद- सुमन पोखरेल)
Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on August 03, 2011 07:51

July 10, 2011

नदी बोक्ने गाउँमा (कविता)

नदी बोक्ने गाउँमा
-सुमन पोखरेल



अब
के लेखौँ र म?

ती चराहरू पनि उडिसके
कुनै नयाँ बास खोज्न,
नदीका नदी पानीहरू मलार्इ हेर्दै बगिसके
कुनै अनिश्चित युग बोलाउन।

लेक र बेँसीहरू
कुहिरो र पसिनाहरू
रङ्गीन नाचमा उत्सवहरूको
मग्न हुँदाहुँदै लोलाएर
नाच्दानाच्दै सेलाएर
कतै कुनै बिरानो भूमिमा
परदेसी उँघाइका अभ्यस्त भइसके।

तिनले छाडेर गएका स्वरहरू पनि मधुरा भइसके
ती समय, बेला र अनुष्ठानहरू पनि टाढा कतै गइसके।
च्याब्रुङ्‍, बिनायो र भ्याम्टाका धुनहरू पनि
मलिन-मलिन भइसके।
यहाँ बगिरहेछ उही नदी
भाग्दै गएका पानीको पछिपछि एकनासले।

त्यसले हालेको सुस्केरा
गुन्जिरहेछ निरन्तर
प्रत्येक थोपा पानीलार्इ पछ्याउने
अर्को थोपा पानीको बगाइसँगै
थर्किएर वारिपारि, पाखाभरि।

उक्किँदै गएका लिउनहरू
धमिलिँदै गएका कमेरा
साँगुरिँदै गएका गोरेटाहरू
भत्किँदै गएका चौताराहरू
बाँझिँदै गएका पाखाहरू
रसाउँदै गएका आँखाहरू
कथा भनिरहेछन् लगातार।

छामिरहेछ भीरको एउटा बुढो ढुङ्गो त्यो कथालार्इ
कतै त्यसको अन्त्य छ वा छैन भनेर।



कात्तिक २०५८, भोजपुर

Jeevanko Chheubaata
Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on July 10, 2011 23:10

नदीजस्तै गुरुकुल

-सुमन पोखरेल


संस्थाहरू पनि कोही नहरजस्ता हुदाँ रहेछन् र कोही नदीजस्ता । औपचारिकताले बाँधेर बाटो निश्चित पारिएका राज्यद्वारा सञ्चालित एकेडेमीजस्ता संस्थाहरू नहरजस्ता लाग्छन्। कुनै एक ब्यक्ति वा केही सामुहिक ब्यक्तिहरूको सनकबाट जन्मिएका र स्वच्छन्दरूपमा गतिशिल भएका संस्थाहरूले नदीको झैँ विशेषता देखाउने गरेको देखेको छु ।

यस्तै नदीजस्तै जन्मिएर नदीजस्तै बहिरहेको एउटा संस्था हो – आरोहण गुरुकुल । नदीजस्तै भएकोले यो अरू जस्तैजस्तै भएर पनि कोही जस्तो छैन ।जसरी सबै नदी उस्तै हुन्छन् र कुनै पनि अर्को कुनैजस्ता हुँदैनन् । सिर्जना र निर्माणमा मूल फरक नै यही रहेछ । नहर अरूले बनाइदिएको बाटोमा हिँड्छ, नदी आफैँ बाटो बनाउँछ र आफ्नै बाटामा हिँड्छ ।

नेपालमा मूल फुटी आफ्नो सामर्थ्य र सौन्दर्यसहित विश्वका विभिन्न मुलुकसम्म बग्न सफल भएको एउटा नदीसंस्था हो - आरोहण गुरुकुल ।काठमान्डू टेकेर काठमान्डू छिचोल्दै देशहरूका राजनैतिक सिमाना भत्काउँदै अनेक मुलुकमा नाट्यसिञ्चन गरिरहेको आरोहण गुरुकुलले आफ्नो मूल फुटेको ठाउँ विराटनगरमा नाटकघर निर्माण गरी मुलुकभित्र पनि आफूलाई विस्तार गरेको छ ।

विराटनगरमा आफ्नै थिएटरमा नाटक महोत्सवको आयोजना गरेर आरोहण गुरुकुलले पूर्वका दर्शकहरूको सुसुप्त रहेको संवेदनलाई जाग्रत गराएको छ । गुरुकुलको यो उपस्थितिमा नाटक प्रतिको अनन्य सम्मोहनका बाबजुद यसबाट विमुखप्राय: भएको विराटनगरलगायतको ठूलो जनसङ्ख्या एक किसिमले झङ्कृत भइरह्यो। जीवनलाई विविध तवरले हिँडाइरहेका नागरिकहरूमा एकप्रकारको मधुर उत्तेजना सलबालाइरह्यो । सधैँ बेथितिका खबरहरू छापेर आजीत भएका स्थानीय पत्रिकाहरूले नाटक महोत्सवभरि आफ्नो पत्रिकाको कमसेकम एक अंशलाई उज्यालो पारिरहे ।

अरूलाई जेसुकै लागोस् वा यथार्थ जेसुकै होस्, मलाई भने के लाग्छ भने; आरोहण गुरुकुल आज जेजस्तो अवस्थामा छ वा पुगेको छ, त्यो सुनील पोखरेलको सनक र त्यस सनकलाई साथ दिने समूहका कारण पुगेको छ । विश्वभरिका हरेक ठूला उपलब्धीहरू यस्तै कुनै सिर्जनशिल सनकका कारण सम्भव भएका छन् । त्यसैले मलाई सनक शब्द ज्यादै प्रिय लाग्छ, ज्यादै सकारात्मक लाग्छ ।

आरोहण गुरुकुलले गरेका सत्प्रयासहरू र यसका सङ्घर्षका कथा तथा उपलब्धिहरूका बारेमा धेरैले धेरै ठाउँमा भनिसकेका छन्। केही त यहीँ मेरा दायाँबायाँ पनि लेखिएका होलान् नै । त्यसैले मलाई ती कुराहरू दोहोर्‍याउने खासै रहर भएन, अहिलेलाई ।

विराटनगरमा भएको नाटक महोत्सवभरि म विभिन्न तवरले सहभागी भइरहेँ। कहिले दर्शक भएर, कहिले छेउमा उभिएर, कहिले एउटा लेखकझैँ, कहिले कविझैँ र कहिले म आफैँ जसरी। त्यस दौरान मनमा कतिपय तरङ्गहरू कुदिरहे। मानसमा कैयन तर्कहरूले हिर्काइरहे ।

विराटनगरमा आरोहण गुरुकुल नाटकघर र आवस्यक अवयवहरू सहित आफ्नै जग्गामा उभिएको छ । यस नाटकघरलाई यसले आफ्नो पूर्वको केन्द्र भनेको छ। त्यसकारणले समेत गर्दा यसका वृहत्तर अवसरहरूका साथै केही स्पस्ट गरी देखिने खालका र केही धमिलोधमिलो रूपमा चल्मलाउने चुनौतिहरू देखापरिरहेका छन्। धेरै छन् चुनौतिहरू, र चुनौति हुनै पर्छ पनि । नत्र केलाई ताकेर युद्ध गर्नू ?अहिले भने मैले देखेका तीनवटाजति चुनौतिका वारेमा केही भन्नु उपयुक्त नै होला भन्ने लागेको छ।

अरोहण गुरुकुल काठमान्डूमा रहुन्जेल काठमान्डू उपत्यकाको गुरुकुल थियो। त्यो झुरुप्प परेर बसेको सानो क्षेत्रफलभित्रको ठूलो जनसङ्ख्याको गुरुकुल थियो । त्यसैले त्यो काठमान्डूका नरनारीहरू अथवा कतै केही कामले झुक्किएर काठमान्डू पुगेका अकाठमान्डूका नाट्यकर्मीहरु, लेखकहरू, कविहरू र नागरिकहरूको गुरुकुल थियो । अब विराटनगरमा पूर्वाञ्चल केन्द्र भएर सशरीर उपस्थित भएपछि यो ओलाङ्चुङ् गोलादेखि केचनासम्म र माडरदेखि मानेभञ्ज्याङ्सम्मका तमाम नागरिकहरूको साझा केन्द्र भएको छ। यसक्षेत्रमा विभिन्न समूहहरू न्यूक्लियर रूपमा रहेर नाटक मञ्चन गरी आ-आफ्नै तवरले कृयाशिल रहिआएका छन् । त्यस्ता अनेकन् समूहहरूको व्यापकीकरण एवम् विस्तार गर्नका लागि गुरुकुलले के कस्ता अवसरहरू के कसरी प्रदान गर्ने, साथै यस क्षेत्रभरिका नरनारीहरूलाई कसरी थिएटर नाटकका दर्शक बनाउने अथवा यी सबैबाट अलग्ग रहने भन्नेमा गुरुकुलले आफ्नो भूमिका स्पस्ट गर्नु पर्ने देखिन्छ ।

अर्को कुरा, अघि नै भनेजस्तो नदीजस्तो भएर बगेको सनकलाई ब्यवस्थित गर्नु पर्ने देखिन्छ । त्यसका लागि कुनै पनि निर्णय गर्दा सबै उपलब्ध भई तुरुन्त बसेर निर्णय गर्न सकिने अवस्था रहेन अब, काठमान्डूमा मात्र हुँदाको जस्तो । त्यसैले गुरुकुलले स्ट्राटेजी, पोलिसी, गाइडलाइन, नियम, विनियम आदीका माध्यमले आफ्ना कृयाकलापहरूलाई निर्देशित तथा ब्यवस्थित गर्नु पर्ने हुन्छ, ता कि, विराटनगर गुरुकुलले कुनै निर्णय गर्नु पर्दा तिनीहरूमा आधारित भएर गर्न सकोस् । तर यसले नदीलाई नहर बनाइदिने जोखिम पनि उत्तिकै रहन्छ। यसले नदीलाई नहर नबनाई भँगालो फाट्नबाट जोगाउने, पाखा हान्न नदिने गरी आफ्नै बाटामा आफूनै जसरी बगिरहने नदी मै कायम राख्न सक्नु पर्ने हुन्छ, सनकलाई विद्यमान राखेर । सनक नै सकियो भने, फेरि केही काम हुने छैन । सनक सकियो भने गुरुकुल हुनु र नहुनुको केही अर्थ रहने छैन, सनक विनाका सरकारी निकायको कुनै कमी छैन हामीकहाँ ।

यस्तै गरी विराटनगर गुरुकुलले काठमान्डू गुरुकुललाई फलसहितको ठूलो रूखको रूपमा निरीह आँखाले हेरिरहेर त्यहाँबाट कुन चाहिँ फल कतिखेर झर्ला भनेर हेर्नु भन्दा आफ्नै सकृयतामा यतैका स्थानीय कलाकारहरूका साथ यतैका जनजीवनमा आधारित नाटकहरू मञ्चन गर्न सुरु गर्नु आवस्यक देखिन्छ ।

कुराहरू गर्दै जाँदा धेरै हुन सक्छन्। अहिले नै धेरै कुरा गर्ने बेला भई पनि सकेको छैन जस्तो पनि लागिरहेकै छ । मुख्य कुरा गुरुकुल विराटनगरसम्म पनि आएको छ – विराटनगरमा गुरुकुलको आफ्नै जग्गामा सम्पूर्ण सुविधासम्पन्न नाटकघर छ। अब यसले आफैँले जगाएको नागरिकहरूको संवेदना कायम राख्न सकोस्, नागरिकहरूको नाटकप्रतिको उत्तेजना र चासोलाई सम्बोधन गर्न सकोस् । गुरुकुल विराटनगर, पूर्वाञ्चलका नरनारीहरूले जीवनका अनेक रङहरूको बहाव हेर्न सक्ने अविछिन्न नदी भएर बगिरहन सकोस् ।
4 likes ·   •  1 comment  •  flag
Share on Twitter
Published on July 10, 2011 07:32

June 30, 2011

अलिकति म बाँचुँला, अलिकति तिमी बाँचिदेऊ (गीत)

गीत
- सुमन पोखरेल


अलिकति म बाँचुला अलिकति तिमी बाँचिदेऊ
आऊ हामी जिन्दगीलाई एकअर्काकोमा गाँसिदिऊँ

तिमी पढ मेरा इच्छा, म तिम्रा भाका बुझिदिन्छु
मेरा धड्कन सुन तिमी, म तिम्रा आँखा पुछिदिन्छु
तिम्रा मेरा भावनालाई एकै ठाउँमा टाँसिदिऊँ
हिजो अस्ति जे भो' भो' अब त हामी हाँसिदिऊँ

तिमी बस मनमा मेरो, म तिम्रो मनमा आइदिन्छु
म भएर सोच तिमी, अनि म तिमी भइदिन्छु
बुझेर एक अर्कालाई जीवनभर हाँसिदिऊँ
आफसका सुख दुःख एकै ठाउँमा बाँधिदिऊँ

https://soundcloud.com/sumanpokhrel/a...
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on June 30, 2011 09:34

June 20, 2011

पारिवारिक जीवन (Nepali translation of Jacques Prévert's poem "Family Life")

पारिवारिक जीवन
ज्याक प्रेभेर (फ्रान्स)



आमा स्वीटर बुन्छिन्‌
छोरो युद्धमा जान्छ
उनी यसलाई नियति ठान्छिन्‌।आमा यस्तो ठान्छिन्‌।

अनि बाबु ?
बाबु के गर्छन्‌ नि?
उनको आफ्नै व्यवसाय छ
उनकी श्रीमती स्वीटर बुन्छिन्‌
उनको छोरो युद्धमा जान्छ
उनको आफ्नै व्यवसाय छ
उनी यसलाई नियति ठान्छन्‌।बाबु यस्तो ठान्छन्‌।

अनि छोरो चाहिँ ?
छोरो चाहिँ के ठान्छ त?
ऊ केही पनि ठान्दैन।त्यो छोरो।
छोरो:- उसकी आमा स्वीटर बुन्छिन्‌,
उसका बाबुको आफ्नै व्यवसाय छ
र ऊ युद्ध लडदैछ।
बाबुकै व्यवसायतिर लाग्नेछ ऊ पनि
युद्ध सकिएपछि।

युद्ध चलिरहन्छ
आमा स्वीटर बुनिरहन्छिन्‌
बाबु आफ्नो व्यवसायमा लागिरन्छन्‌
छोरो मारिन्छ
उसको काम सकिन्छ।
बाबु र आमा उसको चिहानमा जान्छन्‌
उनीहरू यसलाई नियति ठान्छन्‌।
बाबु र आमा।

जीवन चलिरहन्छ
बुनाइ, युद्ध र व्यवसायको जीवन
व्यवसाय, युद्ध, बुनाइ, युद्ध
व्यवसाय, व्यवसाय, व्यवसाय
चिहानको जीवन।


(मूल फ्रेन्चबाट अलास्टियर क्याम्पबेलले गरेको अङ्ग्रेजी अनुवादको सुमन पोखरेलद्वारा नेपालीमा अनुवाद)

Prévert, Jacques
Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on June 20, 2011 16:26

June 18, 2011

छ्यान्द्रो मेरो मुटुमा माया राखिनौ ठीक गर्‍यौ (गीत)

गीत
- सुमन पोखरेल


छ्यान्द्रो मेरो मुटुमा माया राखिनौ ठीक गर्‍यौ
भन्छन् डोकोमा थापेर पानी कहिल्यै भरिन्न
पार गर्ने गराउने जहाज नै पाइन्छ भने
कागजको नाऊमा बसेर सागर कहिल्यै तरिन्न

छाती चिरेर देखाऊँ कसरी, भित्र हाल के होला
हजार टुक्रा भएर पनि मुटु कहिल्यै छरिन्न
हेर्ने भए आऊ फेरि यस्तो मौका नहोला
एकपल्टको जीवनमा दोहोर्‍याएर मरिन्न

जीवनको चिसो अनुभव, यी आँसु मैले के गर्नु
माघको महिना लेकमा दिनहुँ नुहाउने गरिन्न
अब मेरो मृत्युमा अपशोच तिमी नगर्नू
आँखाको कसेर निस्किँदा आँसु बहाउने गरिन्न
 •  0 comments  •  flag
Share on Twitter
Published on June 18, 2011 08:24

June 17, 2011

गर्मी

गर्मी
-सुमन पोखरेल


गर्मी आफ्नो उत्कर्षबाट अझ मास्तिर उक्लँदो छ,
मानौँ कसम खाएको छ तमाम थर्मामिटरहरू नफुटाइकन तल नओर्लिने।

हावा यता छिर्न मन गरिरहेको छैन,
बादललार्इ लिएर गएको छ कतै हनिमुन मनाउन
त्यसैले पानी पनि पर्न सकिरहेको छैन।

सूर्य भएभरको शक्ति लगाएर घाम बर्साइरहेको छ,
लादिरहेछ निर्ममतापूर्वक निरीह जीवनहरूमाथि आफ्नो एकोहोरो शासन।

मान्छेको शरीर र मस्तिष्कको सामञ्जस्यलार्इ भत्काइदिएको छ गर्मीले।
सिमसार भएको छ मान्छेको शरीर।
बौलाहा बाढीले जस्तो एकछत्त भिजाएको छ सम्पूर्ण शरीरलार्इ पसिनाले।

उसले छुट्टयाउन सकेको छैन छाला र रौँ,
र मान्छेको विचारलार्इ टाउकादेखि बगाउँदै पैतालासम्म पुर्‍याइदिएको छ।

पसिनाले तानेर जिउमै लपक्क टाँसिदिएको छ
करैले लगाउनुपरेका लुगाहरू पनि।
आजीवन अभिनयरत मान्छे
गाली गर्दो छ कपडाको आविस्कारकलार्इ।

झ्यालहरू भएर पनि नभएझैँ छन्
कुनै असफल राष्ट्रको सरकारझैँ।
पर्दाहरू हल्लिऊँ कि नहल्लिऊँ भनेर अलमल्ल छन्।

भित्ताहरू नभएको वैमनष्यको तातो फ्याँक्दै सिँगौरी खेल्दैछन्‍ आपसमा जुधौँझैँ गरेर।
कोठा आफैँमा बौलाएको छ आफैँभित्रको ताप खप्न नसकेर।
ओछ्यान तावाले झैँ राप फ्याँक्दो छ,
उठ्‍दै गरेको मान्छेको जिउमा टाँसिएर भाग्न खोज्दो छ पसिनाले भिजेको तन्ना।

सिलिङ्पङ्खा आजित छ अधिकारविहीन नाम मात्रको कुनै निमित्त हाकिमजस्तै
उँधोमुन्टो झुन्डिएर निरन्तर हप्काइरहँदा पनि गर्मीले टेरपुच्छर नलगाएकामा।
टाउको निहुर्‍याएर अगाडि पर्ने जोसुकैको गाली सुन्दै घुमिरहेछ टेबुल पङ्खा
सरकारी अफिसको कुनै श्रेणीविहीन फाजिल कर्मचारीजस्तै।

बिजुली गएको छ योजनाकारहरूका बैङ्कखातामा लुक्न
र बच्चो रुँदैछ आमाको दूध चुस्न नसकेर गर्मीले।
स्वास्नीमाथि खन्याउँदैछ लोग्ने अनाहक
असफल योजना र गर्मीको पारो फुटेर निस्किएको असरविहीन तातो झोँकलार्इ।
स्वास्नीको लागि त्यो झोँक उसले भोगिरहेको गर्मीभन्दा ज्यादा तातो छैन।

उन्मत्त उम्लिरहेछ बाटाको पिच
मान्छेको धैर्य चर्काउने गरी थपिरहेछ हावामा तातो।

अस्तव्यस्त गफ्फिइरहेछन्
खेत रोप्न नपाएर फुर्सद पाएका आइमार्इहरू रुखमुनि थुप्रिएर।
छेउमा बाँधेको बहर गोरु जान्न उत्सुक छ,
आइमार्इहरूलार्इ जाडोमा मात्र लाज लाग्दोरहेछ कि कसो भनेर।
सम्भ्रान्त भनाउँदा आइमार्इहरूका आफ्नै ऐनामा सीमित केही रहस्यहरू पनि
द्रुततर गतिमा सार्वजनिक भइरहेछन् गर्मीको निहुँमा।

पसिनाको चिपचिपाहटमा अल्झिएका छन् सबैका सीप र जाँगरहरू।
प्रेमी-प्रेमिकाहरू एकअर्कालार्इ टाढैबाट हेरेर चित्त बुझाउँदै छन्‍,
तमाम मोह र आशक्तिभन्दा ज्यादा शक्तिशाली भएर उभिएको छ
उनीहरूका बीचमा यो प्रचण्ड गर्मीको विकर्षण।

सूर्य आफ्नो वर्चस्व देखाउन तल्लिन छ अझै
र एकोहोरो चढ्‍दो छ गर्मीको घमण्ड।

यति हुँदाहुँदै पनि विश्वस्त छन्‍ यहाँ बाँचिरहेका एकएक कणहरू
गर्मीलार्इ पछारेर अवश्य आउनेछ शीतलता भनेर।

अनुभव साक्षी छ,
निर्मम शासन गरेर कोही यहाँ धेरैबेर टिक्न सक्दैन।



जेठ २०६१, वीरगञ्ज

(जीवनको छेउबाट-२०६६)


Jeevanko Chheubaata

Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on June 17, 2011 12:24

May 30, 2011

रातजस्तो केश त्यो जूनजस्तो मुहार (गीत)

गीत
- सुमन पोखरेल

रातजस्तो केश त्यो जूनजस्तो मुहार
कति सुन्दर कति राम्रो मुस्कानको जुहार

वर्णन गरी सक्नु छैन सौन्दर्य छ हजार
तर केही कम भएझैँ चन्दनजस्तो निधार
लगाइदिऊँ कि टीका सिन्दुर बनिदिउँ कि शृङ्गार
रातजस्तो केश त्यो जून जस्तो मुहार

कताकता घुमाउँछ्यौ लोलाएका नजर
रहर साँची ओइलिजालान् फूलजस्ता अधर
चुमिदिऊँ कि एकपल्ट लगाई दिऊँ कि रहर
रातजस्तो केश त्यो जूनजस्तो मुहार
 •  0 comments  •  flag
Share on Twitter
Published on May 30, 2011 09:19

सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.