Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 6

June 20, 2015

मातृभूमि (Nepali translation of Mahmoud Darwish's poem "I Came From")

मातृभूमि
-महमुद दरविश (१३ मार्च १९४१ अल बिर्वा, प्यालेस्टाइन - ९ अगस्ट २००८ टेक्सास, सं. रा. अमेरिका )
Mahmoud Darwish




म त्यहीँको हुँ।
जीव जन्मिएजसरी जन्मिएका मेरा स्मृतिहरू छन्‌।
मेरी एउटी आमा छिन्‌, र झ्यालैझ्याल भएको एउटा घर छ,
मेरा दाजुभाइ छन्‌, साथीहरू छन्‌,
र सिरेटो छिराउने एउटा झ्याल भएको जेलको एउटा छिँडी छ।

समुद्री चराले खोसेका तरङ्गहरू छन्‌ मेरा,
मसँग मेरो आफ्नै सोचाइ
र घाँसको थप एउटा त्यान्द्रो छ।
शब्दहरूको पल्लो किनारमा हाँसिरहेको जून मेरो हो,
र चराहरूको अप्रतिम कोसेली
र ओलिभको अजम्बरी रुख मेरो हो।
यसको जिउँदो शरीरलाई तरवारहरूले क्षतविक्षत बनाउनुभन्दा पहिल्यैदेखि
हिँडेको हुँ म यो भूमिमा।
 
म त्यहीँको हुँ
जहाँ आमा खोजेर रुँदै गरेको आकाशलाई मैले
उसकी आमाको काखसम्म पुर्‍याइदिएथेँ
र आफूलाई बादलले चिनोस्‍ भनेर रोएँथेँ।

नियम भत्काउन सक्ने हुनेछु भनेर शब्दहरू सिकेँ मैले
जो रगतको खोलोभन्दा ज्यादा मूल्यवान थिए।
मैले सबै शब्दहरू सिकेँ र भत्काएँ तिनलाई
र बनाएँ एउटा शब्द - 'मातृभूमि'।


(मूल अरबीबाट इब्राहिम मुहावीले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)


Mahmoud Darwish
Translated by Suman Pokhrel
1 like ·   •  2 comments  •  flag
Share on Twitter
Published on June 20, 2015 05:13

June 17, 2015

सार्वकालिक अनुभूतिका सुवासहरू

सार्वकालिक अनुभूतिका सुवासहरू
सुमन पोखरेल


केहीअघि एक कवितामय दिनमा मञ्जु दिदीले आग्रह गर्नु भएको थियो - "सुमन भाइ, मेरो गीतसङ्ग्रहको भूमिका लेखिदिनु पर्‍यो । " म अनकनाएको थिएँ- "दिदी, हामीकहाँ भूमिका समालोचनाजस्तै लेख्ने चलन छ, र पछि गरिने समालोचनाहरू कृतिमा भन्दा पनि भूमिकामा ज्यादा केन्द्रित हुने गरेको पाइन्छ । म गीत/कविता लेख्ने मान्छे, मैले लेखेँ भने त गीत लेख्नेले लेख्नेजस्तो मात्र लेख्न सक्छु । कृतिमाथि अन्याय हुने सम्भावना ज्यादा रहन्छ । दिदीले बरू..." । "हैन, मलाई गीतकारले लेख्नेजस्तो लेखिदिनु भयो भने हुन्छ । "– दिदीले मेरो भनाइलाई छोट्याइदिनु भएको थियो ।

त्यसको केही दिनपछि साँझ म घर पुग्दा यी गीतहरू भएको एउटा ठूलो खामले मलाई पर्खिरहेथ्यो । खामबाट झिकेर सर्सर्ती हेरेँ र ब्यागमा हालेँ । मलाईसमेत बोकेर विराटनगर-इटहरी ओहोरदोहोर गर्ने मेरो ल्यापटप ब्यागले मसँगसँगै मञ्जु दिदीका गीतको टङ्कणलिपीलाई पनि अनेक ठाउँ घुमाइरह्यो । म मौकामौकामा यी गीतसँग गफ्फिइरहेँ । तर जीवनले खेदेको कविजस्तो भइरहेँ र यसमाथि केही लेख्न चाहिने समय, सनक र आफूलाई एकैपल्ट भेट्टाउने अनुकूलता रहेन । यी गीतसँग गरेका सम्बादहरूले मनभित्र एउटा तलाउ नै सिर्जना गरे पनि बाहिर लेख्नका लागि मेसो मिलिरहेको थिएन ।

इटहरी जुट विकास चोकमा चेरीको बोटमुनि बसेर चिया खाँदै गर्दा गायक/सङ्गीतकार भाइ वेदनिधि पौडेलले सोध्नु भयो – "दाजु, यी गीत कसका हुन्?" मैले उत्तर दिएँ, "यी मञ्जु दिदीका गीत हुन्, मञ्जु शर्माका । वहाँ गीत/भजन लेख्नु हुन्छ र कार्यक्रमहरूमा सस्वर वाचन गर्नु हुन्छ, वहाँको गायन पनि अत्यन्तै सुन्दर छ" ।

प्राय: एउटा उत्तरले अर्को प्रश्न जन्माउँछ नै - "वहाँ अरू के गर्नु हुन्छ?" भन्ने वेदको जिज्ञासालाई सम्बोधन गर्दै मैले भनेँ - "मलाई थाह भएको वहाँ गीत/भजन लेख्नु हुन्छ, ज्योतिषकार्य गर्नुहुन्छ । ब्यक्तिगतरूपमा मलाई यत्ति थाह छ । गीत हेर्दा वहाँले जीवनलाई धेरैतिरबाट भोग्नु भए झैँ लाग्छ । वहाँका गीतमा कतै बुद्धत्व पनि भेटिन्छ, र कतै आम मान्छे पनि । ल हेर्नुस् " –

म जल्दा कसैलाई पोल्छ भने
पिल्सँदा उसलाई दुख्छ भने
त्यो मुटु मेरै हो भनी सोचेँ मैले
- गीत सङ्ख्या २८

"एउटाको पीडा अर्कोले अनुभूत गर्न सक्नु नै बुद्धत्व हो नी, हैन र ! अनि यहाँ हेर्नुस् त, एउटा साधारण मान्छेको मनलाई वहाँले कसरी लिपीबद्ध गर्नुभएको छ"-

मेरै सामू अरूलाई आँखाको तीर नचलाउनू
– गीत सङ्ख्या ११

पसले बैनीले चियाका गिलास उठाउँदै गर्दा वेदले अर्को प्रश्न गर्नु भयो- " प्रेमसम्बन्धी अरू गीत पनि छन् दाजु, वहाँका?"

"वहाँका गीतमा धेरैजसो त एउटा विह्वल प्रेमीलाई नै भेटिन्छ, यी गीत हेर्नू न!" -

हरक्षण उसैको यादमा म त्यसैत्यसै टोलाउँछु
हरपल उसैको मुहार म आँखाबीच सजाउँछु ।
– गीत सङ्ख्या ३

यिनै नजरको सामुमा, तिमी भयौ पराइ
न्यानो अँगालोमा पस्यौ, मेरो मुटु जलाई
– गीत सङ्ख्या ५१

"प्रेमी कि प्रेमिका?" – वेद हाँस्नुभो' ।

"यहाँनेर मेरो आफ्नै तर्क छ । प्रेम गर्ने प्रेमी नै हो । प्रेमको स्वरूप हुँदैन । हृदयको लिङ्ग हुँदैन, मेरो मतलब, हृदयको लिङ्गभेद हुँदैन । हृदयबाट प्रेम गर्ने सबै प्रेमी हुन् । कुरो जब शरीरतिर निस्कन्छ, त्यसबेला नारी र पुरुष होलान् वा हुन्छन् । त्यसपछि प्रेमी र प्रेमिका छुट्टिन्छन् । वहाँ अधिकांश गीतमा प्रेमी हुनुहुन्छ र केहीमा प्रेमिका । " – मेरो धारणा राखेँ मैले ।

"मञ्जु दिदीका यी गीतहरूमा कुनै पङ्क्ति साह्रै उत्कृष्ट छन्, कुनै ठीकै लाग्छन् । एउटा उत्कृष्ट गीत लेख्ने गीतकारले किन कुनै गीत ठीकै मात्र लेख्छन्, दाजु?" - वेदले बुझ्न खोज्नु भो' ।

"तपाईँले उत्कृष्ट भन्नु भएका गीतहरू कविताको उचाइमा छन् । कविता जमीनमा टेकेर लेख्न सकिँदैन । धर्तीकै कविता लेख्ने हो लेख्नेले, तर धर्तीमा टेकेर कविता लेखिँदैन । त्यसका लागि समाधिसम्मको उडान चाहिन्छ । र मान्छे सँधै त्यस उचाइको उडानमा रहिरहन सक्दैन । जब तल ओर्लेर, धर्ती टेकेर, लेख्छ; ठीकठीकै लेख्छ । "- मैले, मलाई लागेको भनेँ ।

हामीले यी र यस्तै कुराहरू गर्यौँ , गरिरह्यौँ ।

गीत र कविता एकै भएता पनि गीत मात्रको कुरा गर्दा कहिलेकाहीँ कविताभन्दा पृथक वास्तविकता र व्यवहारिकता देखिन्छन् । म यहाँ गीतको इतिहास लेखिरहेको छुइनँ, र गीतमा हुनु पर्ने वा नहुनु पर्ने केके हुन् भनेर व्याख्या गरिरहेको पनि छुइनँ । तर के चाहिँ हो जस्तो लाग्दछ भने पहिलो गीत प्रथम मानवले गाएको लोकगीत हो र गीतको पहिलो लिखितरूप सामवेद हो । त्यसपछि ईसापूर्व एकतीसौँ शताब्दीतिर मेसोपोटामियालीहरूले गाएका अनेकन गीतहरू सङ्ग्रहित गरे । मायालीहरूले गाएका गीत र तिनीहरूको सङ्गीतको महक त हालसम्म पनि दक्षिण अमेरिकी स्पेनिस गीतहरूमा अनुभव गर्न सकिन्छ नै । पूर्वमा वैदिक कालमै आएको गीत पश्चिमतिर सृष्टिको ओल्लो कालमा मेसोपोटामिया र मायापछि स्कटल्यान्डमा तेर्हौँा इश्वी सम्बत्, इङ्ल्यान्डमा चौधौँ इश्वी सम्बत् र अमेरिकामा सत्रौँ इश्वी सम्बत्देदखि मात्र सङ्ग्रहित हुन थालेको देखिन्छ ।

हामीकहाँ सुवानन्दन दाशदेखि कविताका रूपमा आए गीतहरू । भनुभक्तले रामायणको गीत बनाए, हरेक शिक्षित नेपाली गायक भैदिए । र अहिलेसम्म आउँदा गीतकारसँगसगैँ स्पस्टरूपमा देखिने सङ्गीतकार र गायक मिलेर मात्र गीत पूर्ण हुने भयो ।

गीतहरू अनेकन विषयबस्तुमा लेखिने गरेता पनि अरू गीत प्रेमगीत जस्तो अमर भएका देखिँदैन् । मानवीय चेतनाको पहिलो झिल्कोदेखि आजसम्म प्रेमको अनुभूति उही रहेको देखिन्छ । मलाई मञ्जु दिदीका यी गीतहरूमा भएका प्रेमानुभूतिमा नै रुमल्लिरहूँ लागिरहेछ ।

माध्यमिक युगका अघिल्लो चरणलाई प्रेमगीतका लागि अँध्यारो युग मानिन्छ । चर्चले प्रेमगीत प्रति लागाएको प्रतिबन्धले गर्दा उक्त अवधिमा प्रेम गीतहरू लेखिएनन् । तर पनि पछि फेरि उस्तैगरी आए- लेखिइए पनि र गाइए पनि प्रेमगीतहरू । प्रेम कसैले रोकेर रोकिने कुरो थिएन, हैन पनि । लेख्नु र गाउनुसम्मलाई कुनै प्रकारको सोचाइले आफ्नो अधिकार रहुन्जेललाई रोक्न सक्थ्यो । र ती रोक्नेहरू आफू नै पनि सबै प्रेम वा यौनविहीन चाहिँ पक्कै थिएनन्‍ भन्ने लाग्दछ, मलाई ।

हामी कहाँ पनि प्रेमगीतहरू प्रतिबन्धित भए नै । सुक्तिसिन्धुलाई प्रतिबन्ध नगरिएको भए, "उठ प्यारी अब ता कुखुरा कराए"हरू पनि कतै सङ्गीतबद्ध हुने थिए होला, रेडियो भैदिएको भए बज्थे पनि होला । तर पनि फेरि हामीकहाँ पनि प्रेममा हजारौँ गीत लेखिए र अझ भनौँ ज्यादाजसो गीत प्रेमगीत नै लेखिए । प्रेममाथि लेखिएका किरण खरेल, रत्नशमशेर थापा, शरण प्रधान, गोपाल योञ्जन, नागेन्द्र थापा, चेतन कार्की, कालीप्रसाद रिजाल, दिनेश अधिकारी, कृष्णहरि बराल आदि गीतकारका कतिपय गीतहरू लामो समयदेखि लगाताररूपमा लोकप्रिय रहेकाले ती गीतहरू कालजयी हुने सम्भावना देखिन्छ । हाम्रा लोकगीतहरू नलेखिँदा पनि लेखिँदा पनि; रेकर्ड नगरिँदा पनि, गरिँदा पनि ज्यादाजसोले प्रेमकै विविध रूपहरूलाई गाउँदै आएका छन् । मानव रहुन्जेल प्रेम रहनेछ, त्यसैले मानवजाती लोप नहुन्जेल प्रेमगीतहरू मर्ने छैनन् , लेखिइरहने छन्, गायिइरहनेछन्, बजिरहने छन् सुनिइरहने छन् ।

नारी-पुरुषबीचको प्रेम होस्, वा गीतकार/गायक/भक्तको ईश्वरप्रतिको प्रेम होस्, मानवसभ्यता सुरूभएदेखि आज, यस क्षणसम्म उही रहेको देखिन्छ । तीन हजार वर्षअघिको बाइबल (पुरानो करार)मा हिब्रुमा लिपीबद्ध "गीतहरूको गीत" ("सङ्‍ अब् सङ्ज्" अर्थात् "सङ्‍ अब् सोलोमन्")मा भएको अनुभूति -

मेरो मन लुट्यौ तिमीले
मेरी प्रिया, मेरी अर्धाङ्गिनी
मेरो मन लुट्यौ तिमीले
तिम्रा आँखाको एक दृष्टीले
तिम्रो गलाको एक सिक्रीले ।

र मञ्जु दिदीका निम्न हरफहरू -

चोरेर लग्यौ मन आफ्नो बनायौ
मेरा भाव लुछेर आफूलाई सजायौ
-गीत सङ्ख्या ४६

मा कुनै ठूलो भिन्नता देख्दिनँ म ।

अन्य कतिपय विषयमा लेखिएका गीत/कविताहरूले बुझिनका लागि पृष्ठभूमिमा इतिहास, भूगोल वा घटनाक्रमलगायत अनेकौँ कुराको ज्ञान खोज्दछन् तर प्रेमगीत बुझ्नका लागि एउटा हृदय भए मनग्य हुन्छ ।

एक्कासि तिमीलाई सामू भेट्दा
बोल्न सक्दिनँ म - बोली लरबराउँछ
मेरो नसानसामा मधुर ज्वाला उठ्दछ

ग्रिसेली कवयित्री सप्फोले ईसापूर्व छ सय तीसतिर लेखेकी यो गीतको मर्म बुझ्न र मञ्जु दिदीको एउटा गीतका निम्न पङ्‍‍क्ति बुझ्न कुनै अग्रिम ज्ञानको आवस्यकता पर्ने देखिँदैन ।

अङ्गभरि उमङ्गका लहर सल्बलाई
नसानसा छाइरहे रक्त चलबालाई
---
ढुकढुकीले धड्कन छोड्यो ओठ थर्थरायो
लरबरिए गोडाहरू बेहोसीझैँ छायो
- गीत सङ्ख्या-५९

प्रेम तथा प्रेमजनित यौनिक अनुभूतिलाई भूगोल र समयले अलग्याउन सकेको देखिँदैन । प्रथम ईस्वी सम्बततिर रोमन कवि ओभिदको "आफूले सँधै गर्नेजस्तो गर्नमा अलिकति चुक्ने बित्तिक्कै प्रेमिकाले अर्की स्त्रीप्रति शङ्का गर्दछे" भन्ने अभिब्यक्तिको सत्यता आजसम्म पनि यथावतरूपमा रहिरहेको देखिन्छ । मञ्जु दिदीकै गीतको एउटा अंश हेरौँ -

मलाई दिने मायाहरू अरूलाई बाँडी हिँड्छौ
शब्दका ती भावहरू अरूलाई साटी हिँड्छौ
– गीत सङ्ख्या १२

गीत गाइने अनुभूति हो, नगाइने गीत हुँदैनन् । र कुशल सङ्गीतकारले जस्तोसुकै संरचनाका शब्दसङ्ग्रहलाई पनि गीत बनाउन सक्दछ । यसरी हेर्दा जेसुकै पनि गीत हुन्जशस्तो लाग्दछ ।

तर, हाम्रो पौरस्त्य शास्त्रीय परम्पराले गीतका लागि एउटा संरचना तय गरेको छ । जसमा स्थायी, अन्तरा, सञ्चरी र आभोग भनेर छुट्याइन्छ । भारतीय विभिन्न भाषाहरू तथा नेपालका नेपालीलगायतका प्राय:जसो भाषाका गीतहरू यसबाट प्रभावित छन् र यसका अनुयायी रहेका छन् । मूलत: उर्दूमा लेखिने गरेका गजलहरू हरेक दुई हरफ स्वतन्त्र हुने भएता पनि कतिपय गायनमा यही स्थायी-अन्तराको संरचना समातेर हिँड्ने गरेको पाइन्छ । अङ्ग्रेजी वा स्पेनिस गीतहरू यसभन्दा अलग वा कहिलेकाहीँ यस्तै पनि देखिन्छन् । तिनीहरूमा स्थायीका रूपमा दोहोरिने वाक्यखण्ड (हूक) गीतको सुरुका नभएर बीचका पनि हुने गर्दछन् । हाम्रोमा भने सुरूका दुई पङ्तिनै स्थायीका रूपमा दोहोरिने चलन रहिआएको छ ।

गीत पूर्ण हुन शब्द, सङ्गीत र स्वर तीन वटै चाहिन्छ भनिन्छ तर गीतको पूर्णता यतिमा सीमित हुँदैन भन्ने लाग्दछ मलाई । गायनमा एउटै सङ्गीत र स्वरमा पनि विविधता हुन सक्दछ र एउटै सङ्गीतभित्र विविध गहिराइहरू हुने गर्दछन् । गीतका शब्दहरूबीच रहेका संवेदनलाई यिनीहरूले फरकफरकरूपमा सम्प्रेषण गर्दछन् र मनका विविधरूपहरूलाई आ-आफ्नो किसिमले प्रभावित गर्दछन् । यस विषयमा अनेकौँ उदाहरणहरू हुन सक्दछन् । अहिलेलाई ग्लूमी सन्डे कै दृष्टान्त लिऔँ । ल्याज्लो जेभरद्वारा लिखित हङ्गेरियन कविता सोमोरू भासर्नाप (उदास आइतबार)का आधारमा रेजो सेरेजले कम्पोज गरेर हङ्गेरियनमै गाएको यस गीतले सयौँ मान्छेको ज्यान लियो भनिन्छ । अङ्ग्रेजी अनुवादमा कयौँ गायकगायिकाले यो गीत करिबकरिब उही सङ्गीतमा गाए । तर बिली होलिडेले गाएको गीत मात्र ज्यानमारा भयो । हालसम्म विभिन्न भाषामा सतासी गायकगायिकाले गाउँदासम्म कुनै गायन पनि मूल हङ्गेरियनमा रेजो सेरेजले सन् उन्नाइस सय पैँतीसमा गाएको र बिली होलिडेले अङ्ग्रेजीमा सन्‍ उन्नाइस सय एकचालीसमा गाएकोजस्तो हृदयस्पर्शी र घातक हुन सकेनन् ।

मैले बुझेसम्म एउटा गीतकारले कुनै पनि गीत कुनै न कुनै सङ्गीतमा लेख्दछ । त्यो प्राय: पहिले गाइएको कुनै गीतको सङ्गीत वा कुनै नयाँ धुन हुन सक्दछ । त्यसलाई फेरि गाउनका लागि गीतकारले आफ्नो लेखनको सङ्गीत भए त्यसैमा नभए सङ्गीतकारको नयाँ सङ्गीतमा गेय बनाउने हो र गायकले सोहीअनुरूप गाउने हो ।

मञ्जु दिदीले एउटा गीतकारले गर्नुपर्ने दायित्व निर्भाह गर्नु भएको छ । बाँकी दायित्व सङ्गीतकार, गायक तथा गीत उत्पादकहरूमा सरेको छ ।

यस सङ्ग्रहमा रहेका गीतहरू त्रुटीविहीन छन् भन्ने मलाई लागेको छैन । तर त्रुटी खोज्ने काम मलाई झन्झटिलो लाग्दछ । अर्को कुरा यो यस कृतिभित्र पस्नुअघिको सामान्य भूमिका मात्र हो । तसर्थ, यसमा भएका अरू राम्रा पक्षहरू, प्राविधिकता, लेखनको कलात्मकता एवम् काब्यशिल्पविशेषताहरूका बारेमा विमर्श गर्ने समालोचकहरूको अधिकारक्षेत्रमा पस्न चाहन्नँ ।

मञ्जु दिदीलाई मेरो शुभकामनै शुभकामना !


२०६७ साउन ६ गते
विराटनगर


(मञ्जु शर्माको गीतसङ्ग्रह 'रित्तिएको मुटु -२०६७'को भूमिका)

Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on June 17, 2015 20:10 Tags: ग-तक-ब-र-म, स-मन-प-खर-ल

June 13, 2015

जीवनलाई भर कसको हो ? (गजल)

धर्ती, आगो, पानी, हावा र यो सगर कसको हो ?
केको बलले चल्दैछ यो, जीवनलाई भर कसको हो ?

मदहोस बनाई मन चोरेर गयो कुनै हेराइ
मुहार-मुहार खोजिरहेँछु, त्यो नजर कसको हो ?

सयौँ पीर, हजारौँ बह, लाखौँ दुखाइको भीड छ
ठाउँ छैन मनमा, फिर्ता लग यो रहर कसको हो ?

आकाङ्क्षा नै राखिरहूँ वा तिमीलाई राखूँ मनमा
अन्योल भो' कसको हो ठाउँ, यो ठहर कसको हो ?

किन त्रसित आँखा तिम्रा, किन हेर्छ्यौ यताउता
दुनियाँ म जितिदिछु, तिमीलाई डर कसको हो ?

नचिनेको जस्तो गर्यौ, सबै बिर्स्यौ या केही सम्झिन्छ्यौ ?
मेरा ओठमा दाग छोड्ने, व्याकुल अधर कसको हो ?

आँसु बर्सिँदा बादलझैँ तिम्रा केश, जहाँ उड्दथे
याद छ वा भुलिसक्यौ, त्यो छातीको सगर कसको हो ?

भेद खुल्ला नलेखूँ भन्छ कलम मुटुको रगतले
मेरो हो वा फेरि उसैको ? यो कदर कसको हो ?

एक्लो झैँ थेँ, तिमी आयौ, गाउँहरूको बसाइँ आयो
न मेरो रह्यो न तिम्रो भो, यो सहर कसको हो ?

विश्वास नटुटा सुमन ! नबुझ् कसले पठायो
पिइदे यो बिष; नसोधी, यो कसर कसको हो ?

© सुमन पोखरेल
Suman Pokhrel
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on June 13, 2015 21:31 Tags: गजल, न-प-ल-गजल

February 1, 2015

Fever

by Suman Pokhrel


Fever painted me all over the body
with its warm kisses of love
for a duration unknown

Taking everything aside of my own being
it was a marvelous feel
to be cocooned into the grip
of this thin frenzy from head to toes
it was immensely ecstatic to
feel the passionate warmth over the skin
and was wildly delirious
to be caressed by its softness beneath the shell.

I want the fever to grab me forever
and want YOU
to be MY fever.


© Suman Pokhrel
Suman Pokhrel
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on February 01, 2015 03:51

January 25, 2015

तिब्बत (Nepali Translation of Uday Prakash's Poem "Tibbat")

तिब्बत
उदय प्रकाश



तिब्बतबाट आएका
लामाहरू
घुमिरहन्छन् अचेल
मन्त्र गुन्नुनाउँदै ।

तिनका खच्चरका झुन्डहरू
बगैँचामा पस्दछन्, तर
खाँदैनन् सयपत्रीका बिरुवाहरू ।

सयपत्रीको एउटा थुङगामा
कति फूल हुन्छन्
पापा ?

तिब्बतमा बर्खा भएको बेलामा
हाम्रोमा कुन मौषम हुन्छ ?

तिब्बतमा तीन बजेको बेला
हाम्रोमा कति बजेको हुन्छ ?

तिब्बतमा
सयपत्रीका फूल
हुन्छन् कि हुँदैनन् पापा ?

लामाले शङ्ख बजाउँछन्, पापा ?

पापा, लामाहरूलाई
ओढ्ने ओढेर
अँध्यारामा
छिटोछिटो हिँड्दै गरेको देख्नु भएको छ
कहिल्यै ?

कुनै मान्छे मर्‍यो भने
त्यसको चिहानको वरिपरि
शिर झुकाएर
उभिन्छन् लामाहरू ।

तिनीहरू मन्त्र पढ्दैनन्

खुस्खुसाउँछन् तिनीहरू... तिब्बत
... तिब्बत ...
तिब्बत - तिब्बत
... तिब्बत - तिब्बत - तिब्बत
तिब्बत - तिब्बत ...
... तिब्बत ...
... तिब्बत - तिब्बत
तिब्बत ........

र रोइरहन्छन्
रातभरि ।

के लामा पनि
हामी जसरी नै
रुन्छन्
पापा ?

(हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)
Translated by Suman Pokhrel

Uday Prakash
2 likes ·   •  0 comments  •  flag
Share on Twitter
Published on January 25, 2015 20:54

October 23, 2014

I shall bid no farewell

by Suman Pokhrel



Fell in love with these hearts and this soil
these houses, these walls and streets.

Living a fraction of time somehow
from the fringes of life
I realized some dreams
have lodged in these eyes
some hearts have entered the heart.

Well, didn't find life as anything special!

What heart touched is what is touched
what heart experienced is what is experienced
where heart lived is what is lived.

When will this time come up again?
where will these faces be seen again?
where will these hearts be met again?
when will these flowers of affection
bloom forth again
within such proximity of a garland?

Alas!
which lake will these loves cross again?
where will these cool rivers of goodwill flow again?
where will these hills of faith stand again!

How far will such warm retreats give shelters
to hide troubled hearts unnoticed
without breaking,
like bird hiding eggs in nest?

I shall not go anywhere from here,
leaving these loves more than hearts.
I shall not cross these watercourses!
I cannot go away
leaving these hearts
that accommodate me entirely.

I shall not go out at all
given that my love is here
shall always stay attached to these hearts
I shall never bid farewell to this place!

But I have to send this body
anyhow from here.


--
Translated from Nepali by Abhi Subedi
Suman Pokhrel
Abhi Subedi
3 likes ·   •  0 comments  •  flag
Share on Twitter
Published on October 23, 2014 21:52

July 3, 2014

मौन राख मलाई (Nepali Translation of Iulia Gherghei's poem "Keep Me Quiet"

मौन राख मलाई
- यौलिया गेरघेई (रोमानिया)


मीठा शब्द र रसिला झूठ बोल्न नलगाऊ
मुख नसुकुन्जेल
घन्टौँ बोलिरहन सक्छु म ।
आफ्ना कानलाई मेरा अविरल प्रेमगीतबाट मुक्त गर्न
तिमी चुम्बनले मेरा ओठ छोप्न चाहने छौ ।

मौन राख मलाई,
तिम्रा आँखाभित्र हराइरहेका
मेरा आँखा मात्रसँग रहन देऊ मलाई ।

मीठा शब्द र रसिला झूठ बोल्न नलगाऊ,
हजारौँ शब्द छन् मसँग,
तिम्रो जीवनबाट दुःख पखाल्न सक्ने
र तिमीलाई प्रेमको रसमा डुबाइरहन सक्ने ।

बादल गुलाबी हुने
आगोका ज्वाला नीला र गोलाकार हुने
वर्षाको पानीले शरीरमा आइसक्रिमको सुवास पोख्ने
नयाँ संसार बनाउन नभन मलाई ।

मलाई पटक्कै नभन
सक्न त सक्नेछु म ।



(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनुदित)

Iulia Gherghei

Suman Pokhrel
2 likes ·   •  1 comment  •  flag
Share on Twitter
Published on July 03, 2014 07:50

May 28, 2014

पिँजडाको चरो (Nepali Translation of Maya Angelou's poem "I Know Why The Caged Bird Sings"

पिँजडाको चरो
- माया एन्जोलो


उन्मुक्त चरो
हावाको पिठ्यूँमा चडेर
बहावको धारलाई छिचोल्दै
वेगको अन्तिम किनारसम्म पौडन्छ।
आफ्ना पँखेटालाई
घामका सुन्तले किरणमा डुबाउँछ
र सम्पूर्ण आकास उसैको हो झैँ फुर्ति गर्छ।

तर, साँगुरो पिँजडामा थुनिएको चरो, बिचरो
मुस्किलैले मात्र चिहाउन सक्छ
आफ्नो कैदखानाको झ्यालबाट बाहिर ।
उसका पँखेटा च्यापिएका छन्
उसका गोडा बाँधिएका छन्
त्यसैले ऊ
खोल्दछ आफ्नो गला
गाउनका लागि।

पिँजडाको चरो
कुनै अज्ञात डरमा काम्दै गाउँछ।
तर पनि
वर्सौँदेखि सधैँ नै सुनिइरहिएको छ यो स्वर
दुर्गम टाकुराहरूसम्म ।
पिँजडाको चरो
स्वतन्त्रताको गीत गाउँछ ।

स्वतन्त्र चरो अर्को शितल हावाको प्रतिक्षा गर्छ
सल्लेरीका मन्द सुसाइको बाटो हेर्छ
बिहानको उज्यालो चौरमा आफ्ना आहाराहरूले पर्खिरहेको कल्पना गर्छ
र सम्पूर्ण आकास आफ्नै हो, ठान्छ।

तर, पिँजडाको चरो
सपनाहरूको चिहानमै उभिइरहन्छ
उसको छाया ऐठनका बर्बराहटलाई हकार्छ।
उसका पँखेटा च्यापिएका छन्,
उसका गोडा बाँधिएका छन्
त्यसैले ऊ
खोल्दछ आफ्नो गला
गाउनका लागि।

पिँजडाको चरो
कुनै अज्ञात डरमा काम्दै गाउँछ।
तर पनि
बर्सौँदेखि सधैँ नै सुनिइरहिएको छ, यो स्वर
दुर्गम टाकुराहरूसम्म।

पिँजडाको चरो
स्वतन्त्रताको गीत गाउँछ ।


(अनुवाद - सुमन पोखरेल)


Maya Angelou
Maya Angelou




Suman Pokhrel

Suman Pokhrel
1 like ·   •  1 comment  •  flag
Share on Twitter
Published on May 28, 2014 18:32

February 19, 2014

डुबेर यो संसार तलाउमा

गीत
-सुमन पोखरेल

डुबेर यो संसार तलाउमा
पुरिएको छु स्वमोहको लेउमा
कसरी भनूँ म भक्त हुँ तेरो
मेरो भगवान, मेरो ईश्वर !

न छ पौरख केही मेरो वाहुको
न अर्थ कुनै मेरो हाउभाउको
त्यसैत्यसै दिन बित्या छ
कसरी आऊँ म तेरो छेउमा
मेरो भगवान, मेरो ईश्वर !

न लिन सकेँ दु:ख दीनहरूको
न सुम्सुम्याएँ घाउ आर्तहरूको
आडम्बरको स्वार्थ भक्तिले
कसरी राखूँ शिर तेरो पाउमा
मेरो भगवान, मेरो ईश्वर !

xxx
(यो गीत तलको लिङ्कमा सुन्न तथा mp3 डाउनलोड गर्न सकिनेछ)

https://soundcloud.com/sumanpokhrel/d...

Suman Pokhrel
3 likes ·   •  2 comments  •  flag
Share on Twitter
Published on February 19, 2014 19:15

February 10, 2014

धर्ती आकाश भन्दा पर जाऔँ कतै हिँड

गीत
- सुमन पोखरेल


धर्ती आकाश भन्दा पर जाऔँ कतै हिँड
म पछि पछि आउनेछु तिमी अघि हिँड

तिम्रो लागि गर्नु पर्ने सबै नै म गर्ने नै छु
विरोधका सागरहरू तिमीसँगै तर्ने नै छु
दुनियाँ यो बैगुनीले वाधा गर्न सक्छ
म बाँधी यसलाई आउनेछु तिमी अघि हिँड

ताराबुट्टे आकाशको घुम्टो लगाइदिउँला
जून टिपी निधारमा टीका लगाइदिउँला
आकाशगङ्गा गलाभरि पोते सुहाउने छ
म लिई यसलाई आउनेछु तिमी अघि हिँड


(यो गीत यस लिङ्कमा सुन्न सकिनेछ)
https://soundcloud.com/sumanpokhrel/d...


Hazaar Aankhaa Yee Aankhaama

Suman Pokhrel
2 likes ·   •  2 comments  •  flag
Share on Twitter
Published on February 10, 2014 20:24

सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.