Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel - Posts Tagged "गजल"

जीवनलाई भर कसको हो ? (गजल)

धर्ती, आगो, पानी, हावा र यो सगर कसको हो ?
केको बलले चल्दैछ यो, जीवनलाई भर कसको हो ?

मदहोस बनाई मन चोरेर गयो कुनै हेराइ
मुहार-मुहार खोजिरहेँछु, त्यो नजर कसको हो ?

सयौँ पीर, हजारौँ बह, लाखौँ दुखाइको भीड छ
ठाउँ छैन मनमा, फिर्ता लग यो रहर कसको हो ?

आकाङ्क्षा नै राखिरहूँ वा तिमीलाई राखूँ मनमा
अन्योल भो' कसको हो ठाउँ, यो ठहर कसको हो ?

किन त्रसित आँखा तिम्रा, किन हेर्छ्यौ यताउता
दुनियाँ म जितिदिछु, तिमीलाई डर कसको हो ?

नचिनेको जस्तो गर्यौ, सबै बिर्स्यौ या केही सम्झिन्छ्यौ ?
मेरा ओठमा दाग छोड्ने, व्याकुल अधर कसको हो ?

आँसु बर्सिँदा बादलझैँ तिम्रा केश, जहाँ उड्दथे
याद छ वा भुलिसक्यौ, त्यो छातीको सगर कसको हो ?

भेद खुल्ला नलेखूँ भन्छ कलम मुटुको रगतले
मेरो हो वा फेरि उसैको ? यो कदर कसको हो ?

एक्लो झैँ थेँ, तिमी आयौ, गाउँहरूको बसाइँ आयो
न मेरो रह्यो न तिम्रो भो, यो सहर कसको हो ?

विश्वास नटुटा सुमन ! नबुझ् कसले पठायो
पिइदे यो बिष; नसोधी, यो कसर कसको हो ?

© सुमन पोखरेल
Suman Pokhrel
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on June 13, 2015 21:31 Tags: गजल, न-प-ल-गजल

सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.