सुमन पोखरेल र जीवनको छेउबाट

सुमन पोखरेल र जीवनको छेउबाट
-बद्री पलिखे
Jeevanko Chheubaata (जीवनको छेउबाट) by Suman Pokhrel




सुमन पोखरेल पचासको दशकदेखि प्रखररूपमा नवीन चिन्तन र उच्च बौद्धिक कविको रूपमा नेपाली काव्यजगतमा उदाएका प्रतिभाशाली कवि हुन्‌ । कविता, गीत, गजल र लघुकथाका विधामा कलम चलाइरहेका कवि सुमनको २०५६ सालमा प्रकाशित शून्य मुटुको धड्कनभित्र (कवितासङ्ग्रह) पछि दोस्रो कृति हजार आँखा : यी आँखामा (गीतसङ्ग्रह) २०५९मा प्रकाशनमा आएको छ भने तेस्रो कृतिका रूपमा जीवनको छेउबाट (कवितासङ्ग्रह)-२०६६ को यहाँ चर्चा गरिएको छ ।

२०२४ साल असोज ५ गते कचिँडे धनकुटामा विद्वान परिवारमा जन्मिएका सुमनमा परिवारको सभ्य, शिष्ट र शालिन भद्र संस्कारगत स्वाभाव देखिन्छ।सन् २००८ उडिसा (भारत)मा सम्पन्न प्रथम सार्क युवा कवि सम्मेलन, सन् २००८ भारतमा वृहत अन्तराष्ट्रिय लघुकथा महोत्सव, सन् २००८ मै रायपुर भारतको अन्तरष्ट्रिय लघुकथा महोत्सव, सन् २००९ तथा २०१० मा भएका सार्क लेखक सम्मेलनहरू तथा २०१० मै भएको सार्क लोकसंस्कृति महोत्सवमा समेत नेपालको प्रतिनिधित्व गरिसक्नुभएका कवि सुमन पोखरेलसँग बेलाबेलामा विभिन्न कविता गोष्ठीहरूमा भेट हुने गरेको छ. म वहाँको कवितावाचन गर्ने रोचक प्रस्तुतिबाट औधि प्रभावित छु ।

यस सङ्ग्रहको भूमिकामा विद्वान समालोचक प्रा.डा. अभि सुबेदीले वैकल्पिक चिन्तन र काव्यसामर्थ्य सुमन पोखरेलका कविताको आधारमा नाजिम हिकमत, भूपि, देवकोटा, लाओत्जे, सिद्धिचरण, बोदेयर, टी.एस. इलियट, सेमुअल बेकेटको चिन्तन र काव्यधारासँग तुलना गर्दै सुमनका कवितामा जटीलताका क्षणहरूको चित्रणमा वैकल्पिक आधुनिकता देख्न सकिन्छ भनी उच्च मूल्याङ्कन गर्नु भएको छ।

सुमन कवितामा जीवन लेख्छन्‌, कवितामा हृदय पोख्छन्‌। उनका कवितामा दार्शनिकता छ। नवीन चिन्तन छ। भाव गहिराइ र गाम्भीर्य छ। उनका कविताहरू सुकोमल फूलका थुङ्गाजस्ता लाग्छन्‌ । फूल- गुलाबका फूल हुन उनका कविता। गुलाबमा जीवन छ, सुन्दरता छ, सुवास छ, मोहकता छ। त्यस्तै लाग्छन्‌ सुमनका कविता। गुलाबमा काँडा पनि छ। उनका कविता छुँदै जाँदा कताकता च्वास्स घोच्छ पनि। पढ्दै जाँदा देवकोटाले भनेझैँ उद्यानमा गई सबतत्व खुल्छ। उनका कवितामा प्रकृतिको खुल्ला पुस्तक पढ्न पाइन्छ, जीवनका सबै पक्ष छ्याङ्गै उघ्रिन्छ। उनका कवितामा शाश्वत प्रेम पनि छ। मलाई त यस्तो लाग्छ, उनको कविता कञ्चन तलाउ हो जहाँ पूर्णेको जून छर्लङ्ग देखिन्छ। तलाउको गहिराइ, जूनको सुन्दरता र स्वच्छ पानी हो हुनको कवित्व ।

सुमनको ‘केटाकेटी’ शीर्षकको कविता हेरौँ – ससाना पाउ, ओठमा, तोते जस्ता अलङ्कारले कवितालाई कति निश्छल मुस्कान दिएको छ। भन्छन्‌ पुराणमा बाललिला हेर्न स्वर्गका देवताहरू पनि पृथ्वीमा अवतरण हुन्छन्‌ अरे । कुनै विद्वानले भनेकै छन्‌ तरवारले जित्न नसकेको युद्ध केटाकेटीको निश्छल मुस्कानले जित्छ।

"तिनका ओठमा बसेपछि
उच्चारण गर्दै डरलाग्ने शव्द पनि
तोते भएर निस्कन्छ।

तिनको मुस्कानको निश्छलता
युगौंको अभ्यासले पनि अनुकरण गर्न सकेन कुनै फूलले "(पृ. १ र २)

गर्मी, विदा हुँदाहुँदै, रुख, हरेक बिहानमा जीवानुभूति छ। जीवन र जगत, जीवनको भोगाइका अनुभवजन्य अनुभूति पाइन्छ। खोरम्पा, काडमान्डौ ओर्लेपछिमा स्थानविशेषको भौगोलिकता र अनुभव पाइन्छ।

मलाई कमैया बस्तीमा कविता मार्मिक लाग्यो। कमैयाको अबोधता, उनीहरूको जीवनको कठोरता, उपेक्षित जीवन र बाँच्नुको विवशतालाई कवि आफ्नो अनुभूतिमा यस्तो लेख्छन् –
"पानी पर्‍यो भने के गर्छौ ? सोधिरहेथे साथीहरू
खै के हुन्छ, भिज्छौँ होला, हाँस्दै उत्तर दिइरहेथे उनीहरू
भरे के खान्छौ ? उत्तर थिएन उनीहरूसँग हाँस्नुबाहेक अर्को।"

यसलाई भन्छ - हँसते जख्म। मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या छ, नारायण गोपालले गाएको गीत। नदी बोक्ने गाउँ – काकाकुल जिन्दगी र बाढी पहिरोको भोगाइ, भरिया– गरिबी र विवशताको कटु यथार्थ, आगाले भिजेको आकाश – द्वन्द्वकालको मर्माहत व्यथा, जिन्दगी – जिन्दगीको परिभाषा, रहर – जीवन जिउनुको क्रम, जिजिविषा – बाँच्ने चाहना। ठाडो उभिएको आकाश तथा आकाशबाट – सन्त्रास र त्रासद समय, पुनरागमन, कार्यालय, यात्रामा निस्कँदै, पिलो जीवन भोगाइका पीडाका स्वरहरू छन् यी कविताहरूमा। आदेश – यो कविता मैले उहाँबाट बाचन भएको सुनेको थिएँ। यो कवितामा निरङ्कुश समयको पराधिन जिन्दगीको जागिर भोगाइको व्यङ्ग्यलाई सरल ढङ्गले अभिव्यक्त गरिएको छ। सुन्नु वस सुन्नु र आदेश मान्नुको नियति हो यो आदेश।

"आदेशहरू त सुनिरहिन्छ तल बसेपछि

---------
----------
----------

मैले बुझ्न सकेको छैन
आदर्श दिनेले किन सोच्न सक्दैन ?" (पृ. ५२)

ढाका – वास्तविकताको चित्रण, अनुभव र दृश्यावलोकनको प्रतिबिम्ब आफूले काठमान्डौ भोगेकोे अनुभूति छ ढाका, बङ्गलादेशको राजधानी ढाका।

"उसको नियति पनि
काठमान्डौ कै जस्तो थियो।" (पृ.५५)

लोडसेडिङ् – दैनिक भोगाइ, ह्याङ्ओभर – सामाजिक पुराना मान्यताहरूको असन्तोष र नवीन युगको प्रतीक्षा, तिमी जसरी छ्यौ एक पुष्प बीजको आह्वान, यो सहर कसको हो? सपना नदेखूँ, कविता फुरिरहेको छैन–१,२, व्यस्तता, बर्सात्मा बुद्धको मूर्ति सामु शीर्षकका सुमनका कविताहरूमा जीवन बग्छ, मानवीय मूल्य र मान्यताहरू सलबलाउँछन्, भौगोलिक अनुभव पाइन्छ। प्रेम र मानवता भेटिन्छ।

मलाई “बर्सात्‍मा बुद्धको मूर्ति सामु” कविता औधि मन पर्‍यो। यो कवितामा अन्तर्राष्ट्रवादको झन्डा फहराउँछ। विश्वप्रेम झल्किन्छ। “बसुधैव कुटुम्बकम्”, यो विश्वग्रामको युगमा शान्ति, प्रेम र अहिंशाको सन्देश नै अचूक अस्त्र हो। शान्तिभन्दा मीठो सङ्गीत अरु के हुन सक्छ ? प्रेमभन्दा जीवनको सञ्जीवनी अरु के हुन सक्छ ? यसमा प्रयोग जेबुन्निसा, क्याथोरिन, क्लियोपेट्रा, फेनिच्का वागमती, टेम्स, पिखुवा नाइलले के विश्ववन्धुत्वको सन्देश दिएको छैन र ? विश्व शान्तिको आह्वान छ यो कवितामा। अङ्गुलीमाल, आम्रपाली पनि त बुद्धको शरणागत भएपछि तथागत भएकै हो। कविलाई माटो बगेको पनि पीरलो छ। कविलाई पहाड समतल हुने हो कि, पहाडको प्रकृति र सुन्दरताको माया छ। कविलाई मिथक इतिहास, कथा र अमूर्त आकृतिहरूको भन्दा बर्सात्‍ले पौरखहरू बगाइदेला कि भन्ने चासो छ। राम्रो आदर्श छ यसमा।

"बुद्धले बन्दुक बोकेनन् भनेर के भन्नू
पियानो पनि त बजाएनन्।
न त कुनै चित्र बनाएकै वृतान्त सुनिन्छ कतै
यस क्षण मलाई
मिथक, इतिहास र कथामा टाँसिएका अमूर्त आकृतिहरूको भन्दा
यो बर्सात्‍ले बगाइलगेको
पौरखहरूको चासो छ।
कतै पुग्न ढिलो भयो भन्ने भन्दा
मेरो माटो बग्यो भन्ने पीर भइरहेछ।

यो पहाड
बगेरै समथर हुने हो कि भन्ने
डर लागिरहेछ। "(पृ. ७५)

बैंसभरि नबुझेको कुरा, मनको गीत, जीवनसँगको जम्काभेटमा, मध्यरात सडकमा जीवनवादी राम्रा कविताहरू हुन। सुमन जीवन र प्रेम, सुन्दरता र जीजीविषा, प्रकृति, रुख, विहान, साँझ, घाम र जून, आगो, आकाश, सपना, कविता, फूल, नदीलाई कलात्मक नौलो शैलीमा सिँगारेर प्रतीक र बिम्बद्वारा भाव पोख्छन्। उनका कविता आगरा, ढाका, यात्रा, काठमान्डू पिखुवा खोला, खोरम्पाहरूमा जीवन र भौगोलिकता पाइन्छ।

कवि सुमन गीतकार पनि हुन त्यसैले उनका कवितामा जीवनको लय पाइन्छ। जीन्दगीको गति पाइन्छ। उनका कवितामा जीवनको धून बज्छ। मानवीय मीठो स्वर सुनिन्छ। गीत, सङ्गीत, कला र कविताको सङ्गम छ, सरगम छ उनका कवितामा।

सुमन हामीलाई अज्ञात प्रदेशहरूमा पुर्‍याउँछन् त्यहाँका नौला नौला दृष्यावलोकन गराउँछन्। पाठकले नँया अनुभूति पाउँछ। उनी पाठकलाई त्यसै छाड्दैनन् पुनः यथास्थानमा ल्याउँछन्। रोमानी लाग्छ घरिघरि। तिलस्मीझैँ पनि लाग्छ।

उनको 'ताजमहल र मेरो प्रेम' अत्यन्त राम्रो र स्तरीय कविता हो। त्यसो त देवकोटाको शाहजहाँको इच्छा नेपाली साहित्यमा ताजमहलबारे पहिलो कविता हो भन्छन्। ताजमहल– प्रेम, जीवन, वियोग र सुन्दरताको अनुपम स्मारक हो। यसमा सुमनले प्रेम, जीवन, वियोग र अमरताको लागि शाहजहाँको ताजमहलमाथि यसरी प्रेमको भाव व्यक्त गरेका छन्।

"उ शहंशाह थियो
म ऊ जत्तिकै वैभवशाली हुन्थेँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ "(पृ. ९२)

सुमनको यो कविता प्रेमको लागि रानीमहल हो। प्रताप मल्लको रानी पोखरी हो। सुमनका प्रेमगीत ताजमहलभन्दा सुन्दर छन्। अमर छन्। शाश्वत छन्‌ । सुमनका कविताहरू जीवनका गीत हुन्, प्रेमका सङ्गीत हुन् ।


Review of Suman Pokhrel's poetry collection Jeevanko Chheubaata
 •  0 comments  •  flag
Share on Twitter
Published on July 10, 2010 20:44
No comments have been added yet.


सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.