पहिले त मुटु नै छेड्ने गरी प्रहार भयो
पछि त्यही हेराइ नै मेरो बाँच्ने आधार भयो
चैतजस्तै उजाड थिएँ, बाँचेको थिएँ मरेकोझैँ
मनभित्र मुस्कुरायौ जीवन भयो, वहार भयो
खुसी छु म तिमी जितेर, तिमी हर्षित किन ?
दुवैले जित्ने खेल थियो वा, कतै मेरो हार भयो ?
नभेट्या भए तिमीलाई के नै काम पाउनेथेँ र !
तिम्रै प्रीतका चोट गन्नु मेरो रोजगार भयो
तिम्रो मन उस्तो हो वा मेरो बुझाइ गलत ‘थ्यो ?
बल्दाबल्दैको प्रेमको आगो कसरी अँगार भयो ?
उत्कण्ठा लिई आउँछन् मान्छे घाउ छोडी जान्छन्
सुमन ! मेरो छाती सधैँ वेदनाको बजार भयो
Suman Pokhrel
Published on August 30, 2013 19:42