मैले लेखेको नै स्वतन्त्र रहनका लागि हो

मैले लेखेको नै स्वतन्त्र रहनका लागि हो
– सुमन पोखरेल (Suman Pokhrel)


(साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया'सँग सुमन पोखरेलको अन्तर्वार्ता)


मोनालिया :-
कविता लेख्दा तपाईँ एउटा आम विषयमा प्रवेश गरेर नौलो परिवेश निर्माण गर्नहुन्छ, त्यहाँबाट फर्कँदा कस्तो लाग्छ ?

सुमन पोखरेल :–
कविता भनेकै आम विषयलाई नियमित गन्जागोलबाट झिकेर एउटा सुन्दर परिदृष्यमा पुर्‍याउनु हो भन्ने लाग्दछ, मलाई । त्यसो भयो भने कविता बन्यो जस्तो लाग्दछ । साँच्चैको कविता लेखियो भने कविताले सिर्जना गरेको परिवेशबाट फर्कँदा एउटा मीठो सपनाबाट ब्यूँझिएझैँ, प्रेमको उत्कर्षले जोडेको अन्तरङ्ग मिलनबाट आफूलाई झिकेर निस्किएझैँ, तमाम बोझहरू बिसाएर रित्तिएझैँ र बाँच्नुको सार्थकता भेट्टाएर फर्किएझैँ लाग्दछ; एक किसिमको समाधीबाट फर्किए झैँ लाग्दछ ।

मोनालिया :-
साहित्य सोख, नसा वा कर्तब्य ? तपाईँका लागि ?

सुमन पोखरेल :–
सुरुसुरुमा रहरले पनि पढियो, लेखियो होला । पछि बिस्तारै यो एउटा सोखजस्तो भयो । अहिले आएर हेर्दा यो एक प्रकारको नसानै भइसक्यो, त्यही लतका कारणले पढ्छु, लेख्छु । कर्तब्यको कुरा भने पठनभन्दा लेखनसँग ज्यादा सम्बन्धित छ जस्तो लाग्दछ, । कतिपय अवस्थामा कर्तब्य पुरा गर्न पनि लेख्नु पर्ने हुन्छ, तर कर्तब्य ठानेर मैले कम नै लेखेको छु ।

मोनालिया :-
एक नागरिक सुमनको सुरक्षामा कवि सुमनले विद्रोह गर्नसकेको छैन नि ? तपाईँ नरम धारमा उभिन मनपराउनु हुन्छ । आफ्नो धारणा बताइदिनोस् न!

सुमन पोखरेल :–
मैले कतै लेखेको पनि छु, म विचारमा विद्रोही र ब्यवहारमा सम्झौताबादी हुँ, भनेर । मेरो कविले विद्रोह गरेकै छ, बरु ब्यक्ति नरम किसिमको छ । म यस्तो देख्छु; बाहिरबाट त तपाईँहरूले देख्ने हो । तै पनि यो प्रश्न पो उल्टो भयो कि जस्तो लाग्दैछ, यहाँनिर मलाई ।

मोनालिया :-
के अझै जीवनको छेउमा हुनुहुन्छ ? जीवनसँग जम्काभेट भएको पनि लेख्नु भएको छ । के जीवनसम्म पुग्नु भएको छैन ?

सुमन पोखरेल :–
जीवनको छेउमा हुनुका विविध अवस्थाहरू हुन सक्छन् । एउटा, जीवनसम्म पुग्न बाँकी भएको; एउटा, जीवनलाई पार गरेर पल्लो छेउतिर पुगेको; अर्को, जीवनभित्र राइफाँडो गरिवरि फर्किएर छेउमा उभिएको र अर्को, जीवनलाई अँगालो हालेर सहारा दिँदै सँगसगैँ हिँडेको । मेरो शीर्षक यो चौथो अवस्थासँग सम्बन्धित छ ।

मोनालिया :-
एक साहित्यकारको नाताले यो देशको समकालिन परिवेशलाई कसरी नियालिरहनु भएको छ ?

सुमन पोखरेल :–
साहित्यकारलाई देशको अवस्थासँग त्यसले सिर्जना गर्ने कलात्मक कलेबरसम्म मात्र सरोकार रहन्छ । त्यसभन्दा ज्यादा साहित्यकारले गरेको जेजति चासो देख्दछौँ हामी, त्यो एउटा नागरिकले गरेको चासो हो । "आमाको सपना" नागरिक गोपालप्रसाद रिमालको सपना हो, जसमा कवि रिमालले कला भरिदिए । "एन्जिनो पेक्टोरिस" क्रान्तिकारी बन्दी नाजिम हिकमतको दुःख हो, जसलाई कवि नाजिम हिकमतले शब्दले सिँगारे । "काठमान्डु एक्लैले काठमान्डु बोक्न सक्दैन" एउटा आम अकाठमान्डेली नेपाली नागरिक कृष्णभूषण बलको पीडा र आक्रोश हो, जसलाई कवि कृष्णभूषण बलले अभिब्यक्ति दिए ।

आन्दोलनमा सामेल भएर जुलुसमा नागरिक हामी हिँडेका हौँ । त्यसैले देशलाई मैले एक आम नेपाली नागरिकले जस्तै नै हेरिरहेको छु । र भन्नै पर्दा, जे जे हुनुपर्थ्यो ती भइरहेका छैनन्‌ वा कम भएका छन् र जेजे नहुनु पर्थ्यो ती निरन्तर भइरहेका छन्, मेरा दृष्टिमा ।

मोनालिया :-
आख्यान जति कविताका किताब पढिँदैनन् भनिन्छ, कविता लोकप्रिय हुन नसकेकै हो कि ?

सुमन पोखरेल :–
नसके कै हो । कविता अभिब्यक्तिको उच्चतम् माध्यम हो । कविताले आफू लेखिएकै भाषाभित्र नयाँ भाषाको आविस्कार गर्छ । आम मान्छेले सँधै बोल्ने भाषामा राम्रो कविता लेखिँदैन । अशिक्षाका कारणले चेतनाको कमी भएको हामी सबैले स्वीकार गरेको हाम्रो यथार्थ हो । यही दुर्दशा ब्याख्या गरेर हाम्रा राजनीतिकर्ताहरू नेता भइटोपल्या छन् । यही नाराको छायामा यहाँ कतिको जीवन निर्वाह भइरहेको छ । लोकको अधिकांश भाग यस्तो भएको अवस्थामा कविता कसरी लोकप्रिय हुन सक्छ । हामी कहाँ शिक्षित भनिएकाहरू पनि अधिकांशतः पत्रिकासाक्षर (newspaper-literate) मात्र छौँ । साहित्य सबैका लागि लेखिने भएता पनि यो जसले तसले सजिलै खेलाउन सक्ने खेलौना हैन । त्यसमा पनि कविता सबैभन्दा माथि ईन्द्रेणीजस्तो टाँगिएको हुन्छ, कतिपय त यसको बिँड खोज्दाखोज्दै जीवन गुज्रिसकेको थाहै पाउँदैनौँ ।

छयालीस सालपछि हामीकहाँ पत्रपत्रिकाहरू बढे, पढ्ने मान्छेको सङ्ख्या बढ्यो, तर स्तरीयता र गहन अध्ययनशिलता त्यस अनुरूप बढ्न सकेन । तर अहिले आशा लाग्दो हुँदैछ, परिवेश । पत्रिका पढ्नेहरू राम्रा कथा पढ्न थाल्या छन्, उपन्यासतिर तानिँदैछन् । अबका पच्चीस–तीस बर्षपछि कविता पढ्नेहरू पनि
निस्कन्छन् भनेर मलाई आश लाग्न थाल्या छ ।

अर्कातिर हामी कविता भनेर जे पायो त्यही लेखिरहेका, छापिरहेका पनि छौँ । कविता भन्दै पत्रिकाहरूमा विकृतिका जुलुसका नाराजस्ता अर्थहीन, कलाको आभाषसम्म नभएका शब्दका केके जाति थुप्राहरू छापिरहेका छौँ । त्यसले कवितातिर आकृष्ट हुनसक्ने आम मान्छेलाई झन टाढा खेदिरहेको छ । हामीलाई
मनमा, मष्तिष्कमा जेजे आउँछ, तिनलाई लेख्ने बित्तिकै कविता भै हाल्ने हैन । जब हामी हामीले लेखेका जे सुकै पनि कविता हुन् भन्न छाड्छौँ र कविता भनेर कविता मात्र छाप्न थाल्छौँ, त्यसपछि आफैँ पाठक पाउने छौँ भन्ने लाग्दछ ।

मोनालिया :-
के अहिले साहित्यमा साधना र क्षमताभन्दा विज्ञापन र प्रदर्शनको स्तर उच्च भएको जस्तो लाग्दैन ?

सुमन पोखरेल :–
यसको उत्तर त यही प्रश्न मै भएजस्तो लाग्यो । तर स्तरविहीन लेखेर विज्ञापन गर्नेहरूले कहिलेसम्म विज्ञापन गरिरहने ? सामर्थ्य नभएका रचनाहरू समयको चाल्नीबाट बिस्तारै आफैँ चालिँदैजान्छन्, बाहिरिँदै जान्छन् । साहित्यको लेखन एक वर्ष दुई वर्ष वा केही वर्षका लागि हैन । "पछि जे होला होला, यो हात चैँ जितूँ" भनेर खेलिने जुवाजस्तो हैन साहित्य भनेको । चकलेट, सेम्पू वा रक्सी, र साहित्यमा धेरै अन्तर छ । तर बढी विज्ञापन गरिएका सबै कृतिहरू स्तरविहीन नै हुन्छन् भन्ने पनि छैन । केही हदको विज्ञापन यस युगको आवस्यकता पनि हो ।

मोनालिया :-
गीतिसङग्रह र गजलमा कुन पहिला छाप्नुहुन्छ ?

सुमन पोखरेल :–
यसमा मैले केही सोचेको छैन । उनान्साठ्ठी सालमा मेरो पहिलो गीतसङग्रह प्रकाशित हुँदा ताका नै अरू दुई सङग्रह पुग्ने गीत थिए, अहिले तिनमा केही थपिएका छन् । सङग्रह निकाल्छौँ भनेर नेपाल मुस्लिम यूथ कमिटिका साथीहरूले मेरा उर्दू गजलहरू मेरो पहिलो कवितासङग्रह निस्कनु भन्दा एक वर्षअघि चौवन्व सालमै लग्नुभएको अहिलेसम्म छापिएको छैन । यो पनि परिवेशको सामञ्जस्यको कुरा रहेछ, जसको साइत जहिले जुर्छ तहिले छापिने रहेछ । यी गीत, गजलभन्दा पहिले अनुवादहरूको एउटा सङग्रह आउलाजस्तो लाग्दैछ मलाई । सबै अनुकूल रहे विभिन्न भाषाबाट अङ्ग्रेजीमा अनुवाद भएका विभिन्न देशका कविहरूका कविताको नेपाली अनुवादको एउटा सङग्रह आउला, एक डेढ वर्षभित्र । म अहिले त्यसमा काम गर्दैछु ।

मोनालिया :-
समकालिन सहित्य परिवृत्तमा आफ्ना किताबको चर्चा कम भएजस्तो लाग्दैन ?

सुमन पोखरेल :–
केही चर्चा त भइरहेकै छ । यसलाई कसरी मापन गर्नु र ? कसैले पनि आफूलाई जे मनपर्छ त्यसैको चर्चा गर्ने हो । मनपर्नका लागि चाहिने उत्प्रेरक तत्वहरू अलगअलग हुन सक्छन्, त्यो अर्कै कुरा हो । र अर्को महत्वपूर्ण कुरा समय हो । समय कहिल्यै मर्दैन, मेरा रचना चर्चा गर्न योग्य रहेछन् भने कुनै समयमा तिनको थप चर्चा हुनेनै छ । म मेरा कमजोर रचनालाई महत्वाकांक्षाको रथ चडाएर क्षणभरको योद्धा बनाउन चहन्न । मेरा कवितामा सामर्थ्य छ भने, कालान्तरसम्म ती आफैँ आफ्नो युद्ध लडिरहेछन् र जितिरहनेछन् ।

मोनालिया :-
स्वतन्त्र सहित्यको पक्षमा हुनुहुन्छ कि तपाईँ कुनै परिभाषाको खेमा मन पराउनु हुन्छ ?

सुमन पोखरेल :–
म कुनै खेमामा बाँधिन चाहन्न । लेखक, कविका रुपमा म एक स्वतन्त्र लेखक हुँ र ब्यक्तिमा म एक स्वतन्त्र नागरिक । मैले लेखेको नै स्वतन्त्र रहनका लागि हो, म कुनै खेमामा बाँधिएर पराधिन हुन चाहन्न । साहित्य स्वतन्त्र रहुन्जेल नै सवल रहने रहेछ, खेमा समातेपछि साहित्य साहित्य नभएर नारा हुने जोखिम हुँदोरहेछ । विश्वभरि यही देखिएको छ । ओक्टाभियो पाजले खेमाको एउटा खुडि्कलामा बसेर लेखेका कविताभन्दा त्यहाँबाट उक्लिएर लेखेका कविताहरूले नै उनलाई कवि भनेर चिनायो । साहिर लुधियानवीले खेमाको ओडारबाट लेखुन्जेल पर्चा मात्र लेखे त्यहाँबाट निस्केपछि कवि भए । पाब्लो नेरुदा, नाजिम हिकमत, ल्याङ्ग्स्टन ह्यूज, भूपि शेरचन वा फैज अहमद फैजहरूले पनि बन्द अवस्थामा वा बन्दी भएर स्वतन्त्रता, न्याय, प्रेम र जीवनका पक्षमा लेखेका साहित्य भए, मुक्त भएर खेमाको फलैँचामा बसेर लेखेका केवल पर्चा भए । यसरी हेर्दा, कुनै पनि लेखन जीवन र जगतको पक्षमा लेखुन्जेल, न्यायका पक्षमा लेखुन्जेल मात्र साहित्य रहने रहेछ । कुनै खेमाको गोडा समाएपछि त्यसले गरेका अन्याय, अनियमितता र जेसुकैको पनि पक्षमा लेखिन थाल्दोरहेछ र साहित्यको रूप विकृत भएर बिस्तारै नारामा परिणत हुन थाल्दोरहेछ ।

मोनालिया :-
खेमामा आबद्ध भएर लेख्नेहरूलाई के भन्नु हुन्छ त ?

सुमन पोखरेल :–
बन्द परिवेशमा सम्पूर्ण मानवजातीको स्वतन्त्रता र न्यायका लागि लेख्नु, युगको अत्यन्त सङ्कटग्रस्त विन्दुमा धर्तीको रक्षाका लागि लेख्नु र खुल्लामा एउटा पक्ष विशेषसँग टाँसिएर आफ्ना स्वार्थका लागि लेख्नु अलग कुरा हुन् । तर खेमामा बाँधिएर लेख्नेहरूसँग मेरो कुनै विमति भने छैन, जीवन सबैले आफूले सजिलो ठानेका ठाउँबाट बाँच्न पाउनु पर्छ । आखिर, लेख्नलाई पनि पहिले त बाँच्नु पर्यो नि! जो स्वतन्त्र भएर बाँच्नै जान्दैन वा सक्दैन, अथवा जो कसैको अधिनमा रहन चाहन्छ, त्यसले खेमाको शरणमा पस्नु अपरिहार्य हुन्छ । र राजनीतिले धुजाधुजा पारेको यस मुलुकको वर्तमानमा स्वतन्त्र भएर बाँच्न निक्कै कठीन पनि छ । यसमा पनि लेखक भएपछि स्वार्थवस् कुनै खेमातिर जानु र कुनै खेमामा तद्अनुरूपको कुनै विशेष भूमिकामा रहेर लेखक पनि हुनु फरकफरक अवस्था हुन् ।

मोनालिया :-
राज्यले साहित्यप्रतिको दायित्व कत्तिको निर्वाह गरेको ठान्नुहुन्छ ?

सुमन पोखरेल :–
राज्य, जनताजस्ता शब्दहरूका बारेमा म विगत दशबार्हर वर्षदेखि सोचमग्न छु । को हो यो राज्य भनेको ? वा जनता भनेको ?

हामी विविध किसिमले काम नलाग्ने भइसकेका छौँ, जस्तो लाग्दछ मलाई कहिले काहीँ । र आफ्ना कमजोरीमा पनि राज्य वा सरकार वा सम्बन्धित निकाय जे छ अगाडि, त्यसैलाई दोष लागाउँछौँ र त्यसैलाई गाली गर्छौँ । किनभने त्यसले हतपत मुख फर्काउँदैन ।

हुन त राज्यले आफ्नो दायित्व कतै पनि निर्वाह गरेको छैन । यहाँ सुतिरहेको नागरिकको ज्यानको सुरक्षा
छैन, केटाकेटीका सपनाको सुरक्षा छैन, आँखाहरू उज्यालाबाट वञ्चित छन्, तिर्खाले पानी खान पाउँदैन, यात्राहरूका गोडा बाँधिएका छन्... अनेकौँ छन् यस्ता कुरा । मानव विकास प्रतिवेदन हेर्नुहोस् न !

यस्तो मुलुकमा कला, साहित्यको के कुरा गर्नु ? यहाँ बाँचीबाँची कविता लेख्न सकिँदैन । मैले अघिनै पनि भनेँ, त्यो अवस्था आउन अझै पच्चिस–तीस वर्ष लाग्छ, कम्तिमा । हामीले कविता कि त बाँच्न छोडेर लेख्नुपर्छ कि त बाँचिसकेर लेख्नु पर्छ । यस्तो स्थितिमा राज्यले के नै गरोस् र ? नागरिकलाई शिक्षित बनाउने हो; शिक्षामा, स्वास्थ्यमा काम गर्ने हो, गरिरहेकै छ ।

राज्यले एकेडेमी बनाइदिएको छ । खर्च धान्दिएको छ । गरेकै छ । तर त्यहाँ पुग्ने त ब्यक्तिहरू, कविसाहित्यकारहरू हुन् नि; तपाईँ हामी हौँ नि ! के हामीहरू आफ्नो दायित्व निर्वाह गर्दैछौँ ? यसरी मुलुकको समष्टिगत रूप हेर्दै आफूसम्म आइपुग्दा राज्यले साहित्यलाई विशेषरूपमा वा दुराग्रह राखेरै अपहेलना गरेको जस्तो देखिँदैन । जेजति गरेको वा नगरेको छ, त्यसको कारण असक्षमता हो , नियत हैन
जस्तो लाग्दछ । अब, असक्षमता दोष हो वा हैन, त्यो अर्कै कुरो हो ।

मोनालिया :-
अन्त्यमा मानवीयता केन्द्रित तपाईँको कविताको एक प्रश्न तपाईँलाई नै – जीवनले मायाको सिर्जना गर्छ कि, मायाले जीवनको ?

सुमन पोखरेल :–
यो त मेरै प्रश्न हो नि ! यसका बारेमा त तपार्इँले मलाई ब्याख्या गरिदिनु हुन्छ कि भन्ने आश थियो । उल्टै मैतिर पो आयो त यो !

मलाई दुबैले एकआपसको सिर्जना गर्दछन् जस्तो लागेर यो लेखेको हुँ । जीवन अस्तित्वमा आउँछ र मायाको सिर्जना गर्दछ । र फेरि मायाबिना जीवन हुर्कनै सक्दैन । अनि जीवन नै हो कि हैन जसरी बाँचिरहेको जीवनमा माया प्रवेश गर्दछ र प्ररूप मात्रको जीवनमा साँच्चैको जीवन भरिदिन्छ । यस्तो लागेकाले मैले त्यो अभिब्यक्त गरेको हुन सक्छ ।

मोनालिया :-
आफ्नो साधनाको समय हामीलाई दिनुभएकोमा धन्यवाद ।

सुमन पोखरेल :–
यहाँहरूलाई पनि धेरैधेरै धन्यवाद ।

(साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया, अङ्क २, साउन - असोज २०६७' सँग सुमन पोखरेलको अन्तर्वार्ता)
1 like ·   •  1 comment  •  flag
Share on Twitter
Published on August 06, 2010 21:55
Comments Showing 1-1 of 1 (1 new)    post a comment »
dateUp arrow    newest »

message 1: by Anuja (new)

Anuja really like the poet's viewpoint.......expressed with a lot of clarity.no ambiguity in any issue whatsoever.kudos


back to top

सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.