गीत
- सुमन पोखरेल
हजार टुक्रा भएर पनि नधड्की भा' छैन
हरेक पल टुक्रिन्छ मुटु जोडिएको था' छैन
आँखाले खोज्छ मायाको मुहार त्यै टाढा भइदियो
ओठलाई चाह माया कै अधर अप्राप्य भइगयो
प्रियतमसँगै गएको बहार अझै आ' छैन
हरेक पल टुक्रिन्छ मुटु जोडिएको था' छैन
अँध्यारो चिसो रातले सँधै प्रियालाई सम्झाउँछ
मुटुको दियो बलेर पनि अन्धकार बोलाउँछ
प्रेयसीसँगै गएको आभा अझै आ' छैन
हरेक पल टुक्रिन्छ मुटु जोडिएको था' छैन
म हाँस्न खोज्छु तर यो मन दुःखले रुझाउँछ
सम्झनाको खुसीले पनि आँखैलाई भिजाउँछ
मायालुसँगै गएको हाँसो अझै आ' छैन
हरेक पल टुक्रिन्छ मुटु जोडिएको था' छैन
Published on October 08, 2010 09:42