निर्णय गर्नुअघि
- सुमन पोखरेल
बहुलाऊँ म कसकसको मस्तिष्कमा?
सोधूँ कसलार्इ?
एकोहोरो उफ्रिरहूँ धारो झरेको ठाउँबाट पानीका कण उफ्रिएझैँ
कि
बिलकुल स्थिर रहूँ त्यही धारामुनिको ढुङ्गाजस्तो?
जो निरन्तरै भए पनि तरल चुटाइले झक्झक्याउँदा
रत्तीभर चट्पटाउँदैन।
कुन आँखालार्इ हेरूँ,
नितान्त तर्कहीन उत्तर पाउनका लागि?
वा
कसैलार्इ नसोधिनुपर्ने प्रश्न सबैलार्इ सोधिरहूँ
कि नसोधिएको प्रश्नको जवाफ दिइरहूँ आकाशतिर फर्किएर?
बाँच्नको लागि लगातार बहुलाइरहनुपर्ने यस परिवेशमा
कुन साइत रोजूँ बहुलाउन ?
मैले सोधिनँ कुनै लप्सीको गेडाजस्तो गुदीविहीन टाउकालार्इ
साइत देखाइनँ मैले कुनै टाँकीको चिउलाजस्तो विवेकलार्इ।
¨ ¨ ¨ ¨
सधैझैँ उत्सव गरिरहेथ्यो शीतको थोपाले रक्सीको स्वादमा
रातभरि फूलसँग मातेर,
बिहानी घामको किरणले पनि
अनुष्ठान गरिरहेथ्यो नदीमाथि नाङ्गै नुहाएर।
अलिबेरमा सकियो,
त्यो उत्ताउलोपन भुवाजस्तो सेतो बादलमा परिणत भएरै छाड्यो।
मैले कसैसँग नसोधिकनै आफूलार्इ बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर।
मलार्इ विश्वास भइरहेथ्यो
एक दिन सबै बहुलाउने छन्
मलार्इ सद्दे देख्नका लागि।
माघ २०५५, भोजपुर
Jeevanko ChheubaataSuman Pokhrel
Published on December 13, 2010 22:51