रुख – २ (कविता)

रुख – २
- सुमन पोखरेल



हाँगामा चढेर प्रदर्शित गरे आफूलार्इ
र बैठक र मन्दिर चहार्दै हराए फूलहरू।
कुनै आकारमा अटाउन नसकेर बेठेगान दौडिरहे नदीहरू।
असङ्‍ख्य गन्तव्य बोकेर जताततै बराल्लिइरहे बाटाहरू।

म भने उही माटालार्इ समाएर
उभिइरहेछु निरन्तर।
कति युगल मेरो फेदमा बसेर
कल्पनाको संसार उडी रमाए,
ढाकर बिसाएर कति भरियाहरू
मेरो आडमा रहरको जीवनजस्तै सपना निदाए।
केटाकेटीहरू हाँगाहाँगामा उफ्रिएर
बाल्यकाल सम्झाउने चिनो बोकी हुर्किएर गए।

बेतोडले कुदेका हावाका झुन्डहरू
मेरा पातमा बसी एक छिन साउती मारेर आकाश खेद्दै क्षितिजतिर दौडिए,
बचेराहरू मेरै हाँगामा काढिएर
पँखेटा उमारी जीवन बोकेर उडे,
थकानले आफैँलार्इ बिर्सी आइपुगेका यात्री पनि
मेरो छायामा बौरिए र आफूलार्इ लिएर गए।

कतिपल्ट दिनभरि हिर्काएर घामले
उभिएको ठाउँबाट खेद्‍न खोजिरह्यो मलार्इ,
पानीले चुटेर मलार्इ नै पानी बनार्इ बगाउन खोज्यो,
आँधीले ठेलेर उडाउने चेष्टा गर्दै
कतै पुर्‍याएर आफैँजस्तै बिलाइदिन खोज्यो।

इन्द्रेनी बोकेका किरणहरू पनि अडिएनन्‍,
नौमती बाजा र एकोहोरो शङ्खका आवाजहरू पनि
पालैपालो आए र कतै गइरहे।
घरबाट निस्कनुअघि चार दिन परको बटुवा
मेरो छहारीमा एकपल्ट सुस्ताएर हिँड्‍ने सोच्दछ,
मेरा हाँगामा चल्ला काढ्‍ने निधो गरेर
चराहरू वसन्त बोलाउँछन्‍,
कतै हराइयो भने यहीँ भेट्‍ने भनेर बाटाहरू छुट्टिन्छन्‍,
आँधीले खेद्दै ल्याएका धुला र कसिङ्गरहरू
मेरा पातमा छेलिएर थकाइ मार्छन्‍।
बर्षाको कुटाइले पानी भएको माटो
मेरा जरा समाएर आफ्नो अस्तित्वमा फर्कन्छ।

बिजुलीले आँखै बिर्साउने गरी नाचेर लोभ्याउन खोजिरहे,
चट्याङहरूले तर्साएझैँ गरिरहे,
बादलहरूले पानी छ्याप्दै ब्यूँझाउन खोजेझैँ गरिरहे।

हिँडू लागेन
यहाँबाट कहिल्यै मलार्इ।



फागुन २०६३, विराटनगर


Jeevanko Chheubaata
Suman Pokhrel
 •  1 comment  •  flag
Share on Twitter
Published on October 18, 2011 20:29
Comments Showing 1-1 of 1 (1 new)    post a comment »
dateUp arrow    newest »

message 1: by Meena (new)

Meena "कतै हराइयो भने यहीँ भेट्‍ने भनेर बाटाहरू छुट्टिन्छन्‍,
आँधीले खेद्दै ल्याएका धुला र कसिङ्गरहरू
मेरा पातमा छेलिएर थकाइ मार्छन्‍।
बर्षाको कुटाइले पानी भएको माटो
मेरा जरा समाएर आफ्नो अस्तित्वमा फर्कन्छ।"
#####

कति राम्रो ! धेरै सशक्त कविता ।


back to top

सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.