रुख – १ (कविता)

रुख – १
- सुमन पोखरेल


म हेरिरहेको छु रुखलार्इ।

रुख टुक्राटुक्रामा बाँच्दैन।
जबसम्म बाँच्छ,
जीवनलार्इ सम्पूर्णतामा आफूमा समाहित गरेर बाँच्छ।

घाममा घाम खान पाए पुग्यो
पानीमा पानीसँग भिज्न पाए भयो
आफ्नो आकारभन्दा ठूलो छैन उसको भोक।

हावामा, हावासँगै हल्लिन्छ
जून आए जूनसँगै रम्छ,
नआए अँध्यारासँगै खेल्छ।
उसलार्इ जराभन्दा टाढाको केही भेट्‍नु छैन
जरा उखेलिएर आकाशमा उडेको कल्पना गर्दैन रुख।
जरा जति उभिने माटो पाए चाहिँदैन उसलार्इ केही
हाँगा र पातभन्दा ज्यादा सपना देख्दैन रुख
छर्दैन रहरहरूलार्इ आफ्नो सामर्य्रभन्दा टाढा पुग्नेगरी।

बाँच्नुको दौडधुपबाट लखतरान
मन, मस्तिष्क र शरीर सबैतिर थकित म
थ्याच्च बसेर भुइँमा
जून उदाउँदो आकाशको पृष्ठभूमिमा हेरिरहेछु रुखलार्इ।

रुख उभिइरहेछ निर्धक्क, निस्फिक्रि।



Jeevanko Chheubaata
Suman Pokhrel
 •  1 comment  •  flag
Share on Twitter
Published on August 21, 2013 20:20
Comments Showing 1-1 of 1 (1 new)    post a comment »
dateUp arrow    newest »

message 1: by Meena (new)

Meena "बाँच्नुको दौडधुपबाट लखतरान
मन, मस्तिष्क र शरीर सबैतिर थकित म
थ्याच्च बसेर भुइँमा
जून उदाउँदो आकाशको पृष्ठभूमिमा हेरिरहेछु रुखलार्इ।

रुख उभिइरहेछ निर्धक्क, निस्फिक्रि।"
#######



कति राम्रो कविता लेखेको हौ, सुमन !
साँच्चै रूख उभिइरहेछ निर्धक्क, निस्फिक्रि


back to top

सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.