बब डिलनको बारेमा पेन जिलेटले भनेको यो कुरा 'रहर' पढिरहँदा बारम्बार आइरह्यो; बब डिलन आफ्नो संगितमा आफुलाई चिन्न प्रयास गरिरहन्छन् । अरुजस्तो बन्न हैन । र, सायद यही कारणले उनका गितहरुले यतिधेरै मानिसहरुलाई छुन्छ । किनकी कला तब मात्र सर्वव्यापी हुन सक्छ जब कलाकार आत्मकेन्द्रित भएर अण्वेषण गर्छ ।
'रहर' सुरेश बडालका रहरहरुको आत्मकेन्द्रित अण्वेषण जस्तो लाग्छ । यो संग्रहका प्राय कथाहरु प्रथम पात्रको केन्द्रबिन्दुबाट लेखिएका छन् । कथाका अधिकांश मुख्य पात्र बालक, किशोर, वा युवक छन् । केही कथाहरु जहाँ व्याख्या गरिएका पात्रहरु वयस्क / वृद्द छन्, त्यहाँ पनि उनीहरुमाथिको बिश्लेषण बालकको दृष्टिकोणबाट गरिएको छ । अर्थात यि कथामा लेखिएका प्रशंगहरु लेखकका आफ्नै उमेर र भोगाइका बेलिविस्तार जस्ता लाग्छन् । यसकारण यि कथाहरु सर्वव्यापी लाग्छन् । सबैलाई आफ्नै भोगाइजस्ता लाग्छन् ।
हाम्रा रहरहरु कति समान हुन सक्दारहेछन् भन्ने महसुस सायद पठनको सबैभन्दा सुखद अनुभव थियो । किताबको सबैभन्दा सुन्दर पक्ष हो भाषा । चाहे त्यो, हामीलाई बिर्सिनै लागेका बाल्याकालका बोलीहरुसंग भेटाउनु होस् वा 'घर छाड्ने योजना'मा जस्तै बाल्यकालका लहडहरुको सम्झना गराउनु । यहाँका कथाहरुमा जोकोहीले पनि आफुलाई पाउन सक्छ ।
भाषालाई कति खुलाउने र कति बाँध्ने कुरामा लेखकको परिपक्वता 'बोल्ने आँखाहरु' कथामा भेटेँ । दिपा दिदीलाई चिनाउदा गरिएको व्याख्याले आफैलाई केहीबेर घोत्लिन बाध्य तुल्यायो । त्यो घोत्ल्याइ मेरै अतिव्याख्या पनि हुनसक्ने सम्भावना भने यथावत छ ।
'स्वाद जिन्दगीको' कथा सबैभन्दा मनपर्यो । पात्रहरुबिचको अन्तर्क्रिया, मुख्य पात्रको अन्तरद्वन्द, अनि एउटा रहरको उद्घाटन र अवसानको कुरा कथाको लम्बाइले गर्दा मज्जाले खुल्न पाएको छ । लेखकले लामो बिधामा कलम चलाउनुपर्ने / चलाउनसक्ने राम्रो उदाहरण लाग्यो यो कथा ।
पुस्तकभरि कमि लागेको कुरा मात्र यति होला- 'म' पत्रको दृष्टिकोण अति हावि भएजस्तो लाग्यो । यसकारण केही कथाहरुमा घटना खास केही नघटि कथा लम्बिएको छ ।
'कर्णाली ब्लुज' पछि पहिलोपटक बाल्यकालबारे पढ्दा आफ्नै बाल्यकाल सम्झना भयो । 'रहर' रहरलाग्दो लाग्यो ।
रहर मैले रहरैले पढें । किताब पढ्छु भनेर धेरै अघि भने पनि जुरेको थिएन । ढिलै गरि पढें । किताब पढ्दाका केहि खुशी र गुनासा यसमा लेख्दैछु ।
रहर कथा संग्रगमा १३ वटा कथा छन् । कथा प्राय स्मृतिमा आधारित छन् । वाल्यकालका घटना र पात्रहरुका कारणले लेखक पुस्ताका पाठकलाई आफ्नै केटौले उमेरमा पुऱ्याउला । गातामा भएको रंगहरुबीच खेलीरहेको केटौले तस्वीरको अर्थ यीनै कथाहरु पढ्दै जांदा खुल्दै जान्छ । भाषा सरल छ । अंग्रेजीका शब्द पनि ठाउंठाउंमा आइरहन्छन् ।
किताबको कम्जोरी भन्नु पर्दा कथाहरु एकै किसिमका जस्ता लाग्छन् । वाल्यकाल र केटौले उमेरका घटना वा स्मृती दोहोरिएको हो कि जस्तो लाग्छ । ठाउंठाउंमा लेखिएका कुराले युगको चेतना नबोकेको हो कि जस्तो लाग्छ । महिला वस्तुकरणको विरोधको जमानामा शिक्षिका हेरेर स्खलन भएको कथाहरु २०-५० वर्ष अघि ठीकै हुन्थ्यो तर अब त्यो पढ्दा गलत लाग्छन् । समय अनुसारको चेत लेख्ने भन्दै गर्दा विगतमा भएका यस खालका गल्तीहरु लेख्दै नलेख्ने होइन बरु ती किन गलत थिए भनेर लेखिनु राम्रो हुन्छ । रोमाचिकृत गरिनु या त्यसको सफाइ लेख्नुले झन् नराम्रो सन्देश दिन्छ । यस खालको अनुभव पटकपटक हुंदा अलि नरमाइलो लाग्छ ।
कथाहरुमा आमाको पढाइ मन परेको थियो । व्यक्तिगत जीवनसंग मेल खाएको हुनाले पनि होला । शिक्षामा पहुंचलाई लैंगिक दृष्टिकोणबाट फर्केर हेरिएको मन परेको थियो । धेरै आमाको कथा त्यसमा छ । नास्पाती, दसैं होमवर्क र बोल्ने आंखाहरुले स्कुले समयमा पुऱ्याउंछन् । स्वाद जिन्दगीको चाहिं अलि निकै लामो लागेको थियो । अलग्गै छाप्दा उल्लार जत्तिकै किताब बन्दो हो । लाटो पहाडमा जबर्जस्ती घुसाएको नाटकको पटकथा जस्तो लागेको थियो ।
लेटर्स टु अ योङ पोयटमा कविता किन लेख्ने भन्ने प्रश्नको उत्तरमा रिल्केले लेखेका छन्, “नलेखे मरिन्छ भन्ने भयो भने लेख्ने” । कथाको हकमा पनि त्यहि होला । रहरले वाल्यकालका रहरलाई जिवित राख्ने काम त गरेको छ तर थप केहि केहि पनि हुनुपर्थ्यो कि ?
कुनै पुस्तक यस्तो हुन्छ जस्ले मन-मष्तिस्कलाई खलबलाइदिन्छ अनि त्यो कथाको असर कालान्तर सम्म रहिरहन्छ भने कुनै यस्तो हुन्छ जसलाइ पढेपछि प्राण, आत्मा र शरीर नयाँ भएको जस्तो लाग्छ। तपाईं पहिले जस्तो सामान्य तरिकाले अनुभव नै गर्नुहुँदैन, पुरै नयाँ अनुभूती हुन्छ।अनि कुनै पुस्तक! कुनै पुस्तक त यसरी मन भित्र डेरा जमाएर बस्छ जसरी तपाईंको पहिलो प्रेमले मनमा ठाउँ ओगटेको हुन्छ। चाहे साथ होस् या नहोस्, चाहे समिपमा रहोस् या कहीँ दुर, चाहे बिर्सेको होस् या नबिर्सेको होस् या त बिर्सिन नखोजेको होस् वा चहाँदा चहाँदै बिर्सिन नसकेको होस् तर तपाईंलाई थाहा छ ऊ मन भित्रै कहीँ छ। यो पुस्तक भने मेरो लागी सामान्य खाल्को असामान्य अनुभव गराउने पुस्तक रह्यो। बडो रहरले ‘रहर’ कुरेको, किनेको अनि परिक्षाको तयारीको बीचमै पनि बडो रहरले पढेको यो पुस्तक मेरो मन-मष्तिस्कमा रहिरहने रहर हुनेछ। सानो, छोटो, सामान्य, सरल र सुन्दर कृति हो रहर। बाल्यकालका सम्झना, स-साना रमाईला पलहरू अनि केही प्रेमका तिता-मिठा बासनाहरूको संगम हो रहर।यो पुस्तकको लागी शुभकामना र सुरेश बडालको अर्को रचनाको पर्खाइ रहनेछ।
सुरेश बडालको ' रहर ' आकर्षक कभर भएको कथा संग्रह भएर किनेको थिए, हालसालै पढेँ। सर�� भाषा तर गहन कथा संग्रह हो ' रहर '। बाल मनोविज्ञान वरिपरि घुमेको पुस्तकका १३ वटै कथाले कतै न कतै आफ्नो बाल्यकाल, साथी संगी, बुबा आमा, स्कूल र त्यो समयको परिवेशको झझल्को दिलाउँछ। छोटो र मिठो कथा संग्रह पठनीय छ। पुस्तक पढिरहँदा आफ्नो बालपनका स्मृतिहरु ताजा भए। ऐना झ्यालको पुतली मनपरेको थियो भने यो पुस्तक पढ्नुहोस।